थप समाचारमंगलबार, पौष ८, २०७१
जातको पगरी
-तुफान न्याैपाने
१९ मंसीरमा स्वरसम्राट नारायणगोपालको २४औं स्मृति दिवस मनाइरहँदा उनको पुर्ख्यौली थरको खोजी भयो। स्वयम् नारायणगोपालले भने आफ्नो जीवनकालमा केही औपचारिक कार्यका लागि बाहेक आफ्नो थर प्रयोग गरेका थिएनन्।
उनी नेपालीमाझ् नारायणगोपाल नामबाटै सुपरिचित छन्। नारायणगोपालसँग संगत गरेका संगीतकार बुलु मुकारुङ स्वरसम्राटले जात भन्दा माथि मान्छेको तहबाट आफूलाई चिनाएको बताउँछन्। “उनको थरको खोजी उनीमाथि नै बेइमानी हो”, मुकारुङ भन्छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले पनि कहिल्यै थर लेखेनन्। उनका लेखरचना, किताब, वक्तव्य र विदेशीलाई लेखेका चिठीमा समेत थर प्रयोग भएको भेटिंदैन।
एमालेका पोलिटब्यूरो सदस्य वेदुराम भुषालका अनुसार, पुष्पलालले जातीय आधारमा भइरहेको विभेद हटाउनुपर्छ भन्ने मार्क्सवादी मान्यता अनुरूप थर नलेखेका हुन्।
पञ्चायतकालमै मन्त्री बनेका पर्साका जयप्रकाशले पनि ४५ वर्षदेखि आफ्नो नाम मात्रै लेख्ने गरेका छन्। अहिले मधेश समता पार्टी नेपालका एक मात्र सभासद् रहेका मेघराज निषाद आफ्ना बाबु जयप्रकाशले जातका आधारमा हुने भेदभाव हटाउन नाम मात्रै लेख्न थालेको बताउँछन्। निषाद भन्छन्, “यसले राष्ट्रिय एकताका लागि पनि राम्रो सन्देश प्रवाह गर्छ।”
जातको भूत
नेपाली समाजमा हिन्दू वर्ण व्यवस्थाले सिर्जना गरेको जातीय छुवाछूतलाई कम पार्ने सदासयबाट एकताका पढैया नेपालीहरूले जात नलेख्ने चलन चलाएका थिए। त्यहीबेला कतिले उपनाम राखे भने कतिले जातको ठाउँमा ‘नेपाली’ प्रयोग गरे।
तिनैमध्येका एक पाल्पाका सूर्यलालले बुटवल झ्रेर पञ्चायती राजनीति गर्ने क्रममा जातीय समानताका लागि थर लेख्न छोडेका थिए। रूपन्देहीबाट पहिलो राष्ट्रिय पञ्चायत सदस्य भएका सूर्यलाल बुटवल नगर पञ्चायतको प्रधानपञ्च पनि बनेका थिए। उनी नेपाल–रूस मैत्री संघ, नेपाल–चीन मैत्री समाज जस्ता संस्थामा आबद्ध थिए।

सूर्यलाल।
सूर्यलालको जीवनका अन्तिम दिनसम्म निकट रहेका बुटवलका मदनलाल पौड्यालका अनुसार, राजा महेन्द्रको समयमा दरबारले दिएको गोरखा दक्षिणबाहुमा उनको थर प्रधान प्रयोग भएपछि सूर्यलालले ‘थर नलेख्ने अभियानमा छु, यो फर्काइपाउँ्क’ भन्दै बिन्तीपत्र हालेर नाम मात्रै देखिएको पदक लिए।
२०६३ सालमा बन्दीपुर सामाजिक विकास समितिले दिएको जेष्ठ नागरिक सम्मानपत्रमा जात लेखिएकोमा सूर्यलालले मञ्चबाटै अस्वीकार गरेका थिए। स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक रहेका डा. यशोवर्द्धन प्रधान आफ्ना बाबुले नागरिकतामा मात्र थर स्वीकार गरेको बताउँछन्।
डा. प्रधान भन्छन्, “बुबाले थर प्रयोग भएकै कारण धेरै पुरस्कार र सम्मान फिर्ता गर्नुभयो।”
बुटवलमा पत्रकारिताको जग बसाएका उनको नाममा ‘सूर्यलाल शान्ति तथा मानवअधिकार पुरस्कार’ स्थापना गरिएको छ।
तर, जात हुनुहुँदैन भन्ने मान्यता राख्ने सूर्यलालको मृत्युपछि थर खोज्नेहरू बढेको पौड्याल बताउँछन्।
वीरगञ्जका पत्रकार चन्द्रकिशोरले पनि झा लेख्न छाडेको २० वर्ष भयो। उनी कर्म र आफूले चाहेको मान्यताका आधारमा परिचय बनाउन थर छोडेको बताउँछन्।
उनको भनाइमा, कसैले रोजेर पुर्ख्यौली थर पाएका हुँदैनन् र आफूलाई कसरी चिनाउने भन्ने व्यक्तिगत स्वतन्त्रताको विषय हो।
फलानो जात वा क्षेत्रको भनेर सम्मान वा उपेक्षा गर्ने मनोभावना बढिरहेको सन्दर्भमा थर नलेख्दा सामाजिक समता बढ्ने चन्द्रकिशोर बताउँछन्।
‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ कृतिका लागि २०२९ मा मदन पुरस्कार पाएका ईश्वरवल्लभका साथै नातिकाजी, शक्तिवल्लभ, बच्चुकैलाश, मेलवादेवी, तारादेवी, मास्टर मित्रसेन, मास्टर पूर्णमान, हिनादेवी, शिवशंकरलगायतका संगीत क्षेत्रका थुप्रै स्रष्टाहरू नामैले परिचित बने।
अहिले पनि बुद्धिसागर, विजयकुमार, यज्ञश लगायत लेखक/पत्रकारहरू आफूलाई नामले मात्र चिनाउँदै आएका छन्। “जात आफैंमा विभाजनकारी छ र विभाजनले विभेदलाई बल पुर्याउँछ”, संगीतकार मुकारुङ भन्छन्, “तर, राज्यव्यवस्थाको कानूनले जात लेख्न बाध्य पारेको छ।”

चन्द्रकिशोर।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले आजन्म जात लेखेनन्, तर उनको मृत्युपछि विभिन्न व्यक्ति/समूहले उनको जात खोज्न थाले।
पत्रकार चन्द्रकिशोरले नचाहँदा नचाहँदै पनि कतिपय सार्वजनिक कार्यक्रममा उद्घोषकले झा उच्चारण गरिदिइहाल्छन्।
नेपाली समाजलाई जातको भूतले लखेटिरहेको उनी बताउँछन्।
समाज भाँडिएको बेला ‘मोडरेट’ मधेशीको खोजीमा रहेका काठमाडौंका सम्पादकहरूले पनि उनको पुर्ख्यौली थर भनिदिए/लेखिदिए।
“तर म ‘मधेशी’ भनेर अवसर लिने पक्षमा पटक्कै छैन”, चन्द्रकिशोर भन्छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट

