समाचारमंगलबार, पौष ८, २०७१
आमहड्तालको अर्थ छैनः पोखरेल
नेकपा एमाले महासचिव ईश्वर पोखरेलले एमाओवादी लगायतका दलले घोषणा गरेको आमहड्तालको कुनै औचित्व नभएको बताएका छन् । पाँचथरमा एमाले जिल्ला अधिवेशनको ८ पुसमा उदघाटन गर्दै उनले अब आन्दोलन घोषणा गरेर कुनै अर्थ नराख्ने बताएका हुन् ।
स्थायी शान्ति र संविधान जारी भए आफ्नो हैसियत माटोमा मिल्ने पूर्वसंभावना आंकलन गर्दै एमाओवादीसहितको मोर्चाले आमहड्ताललाई बहाना बनाएको उनको आरोप छ ।
उनले आमहड्ताललाई साथि नदिन पनि सर्वसाधारणसँग आग्रह गरे । उनले भने, “हड्तालमा साथ र समर्थन हैन, तपाइले गर्ने हड्ताल र बन्द केका लागि भनेर प्रश्न गर्नुहोस् ।”
संविधान जारी गर्ने मिति नजिकिँदै एमाओवादीका नेताहरुले दिइरहेका अभिव्यक्तिप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनको भनाइ छ । उनले ८ माघमा संविधान जारी नभए संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको नैतिकता समाप्त हुने बताए ।
उनले आन्दोलनका कार्यक्रम छाडेर सहमतिको आधारमा संविधान जारी गर्ने वातावरण सहज बनाउन एमाओवादी लगायतका दलसँग आग्रह गरे ।
लक्ष्मी गौतम, पाँचथर
