समाचारमंगलबार, पौष ८, २०७१
नेपालीको औसत आयु ६७ वर्ष पुग्योः जनगणना प्रतिवेदन
राष्ट्रिय जनगणना २०६८ को समग्र तथ्याङ्क विश्लेषण गरिएको जनसङ्ख्या विस्तृत विवरण नेपाल २०१४ सार्वजनिक गरिएको छ ।
केन्द्रिय तथ्याङ्क विभागले ८ पुसमा गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य यज्ञबहादुर कार्कीले जनसङ्ख्या विस्तृत विवरण नेपाल र जनसङ्ख्या सूचना सार्वजनिक गरेका हुन् ।
मोनोग्राफलाई तीन छुट्टाछुट्टै भागमा प्रकाशित गरिएको छ । पहिलो भागमा जनसाङ्ख्यिक विशेषताहरूको विश्लेषण गर्दै जनसङ्ख्याको विविध आयामको व्याख्या गरिएको छ । दोस्रो भागमा जनसङ्ख्याको जातजाति, भाषा, धर्मलगायतका सामाजिक विशेषताको विश्लेषण गरिएको छ ।
र तेस्रो भाग जनसङ्ख्याको आर्थिक क्रियाकलापका विविध पक्षबारे विश्लेषण गरिएको विभागले जनाएको छ ।
नेपालको जनसङ्ख्याको इतिहासमा भएको परिवर्तन र यसले अन्य क्षेत्रमा पार्न सक्ने प्रभावबारे विश्लेषण गरी नीतिगत सुझावसमेत सरकारलाई दिइएको विभागका महानिर्देशक विकास विष्टले बताए ।
योजना, नीति तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि आवश्यक सूचक प्राप्त हुने भएकाले सरकारी तथा गैरसरकारी क्षेत्रको लागि तथा अनुसन्धानकर्ता तथा विद्यार्थीका लागिसमेत मोनोग्राफ विशेष महत्वको हुने उनको भनाई छ ।
पछिल्लो जनगणनाअनुसार विगत ६ दशकमा सबैभन्दा कम अर्थात १.३५ प्रतिशत मात्रै जनसङ्ख्या वृद्धिदर भएको र यही जनसङ्ख्या कायम रहे नेपालको जनसङ्ख्या दोब्बर हुन ५१ वर्ष लाग्ने देखिन्छ ।
वि.सं २०६८ को जनगणनाअनुसार नेपालको जन्मदर इतिहासमै कम पाइएको छ । विगत एक दशकमा प्रतिहजार जनसङ्ख्यामा २२ बच्चा हरेक वर्ष थपिएको र प्रतिहजार जनसङ्ख्यामा सात जनाको मात्रै मृत्यु भएको देखिन्छ ।
विभागका अनुसार प्रति महिला हाल २.५२ जना बच्चा जन्मिएको देखिन्छ । यो जन्मदर ग्रामीण र सहरी क्षेत्रमा भिन्नभिन्न देखिन्छ ।
सहरी क्षेत्रमा एउटी महिलाले औसतमा दुई वटाभन्दा कम सन्तान जन्माएको देखिन्छ भने ग्रामीण क्षेत्रमा करिब तीन बच्चा जन्माएको देखिन्छ ।
विवाह गर्ने औसत उमेरमा वृद्धि भएको, धेरै युवा विदेशिएका कारण जन्मदरमा कमी आएको विभागको भनाइ छ ।
नेपालीको औसत आयु ६७ वर्ष पुगेको छ भने भक्तपुर, ललितपुर, कास्की, काठमाडौँ र चितवनमा जन्मेका बच्चाको आयु धेरै र मध्यपश्चिमका पहाड र मध्य तराईमा औसत आयु कम रहेको पाइएको छ ।
साक्षरता, घरमा चर्पीको व्यवस्था, इन्धन, विद्युतको प्रयोग आदिको सन्दर्भमा सहरी र ग्रामीण क्षेत्र एवम् विकास क्षेत्रमा भिन्नता देखिन्छ । मध्यपश्चिमको हिमाल, पहाड एवम् मध्य तराईको समग्र आर्थिक सामाजिक अवस्था सापेक्षतामा कमजोर रहेको छ ।
वि.सं २०२८ को जनगणनामा आधारित रहेर २०३३ सालमा पहिलोपटक मोनोग्राफ तयार पारिएको थियो ।
