समाचारबिहीबार, पौष १०, २०७१
सबैको अधिकार सुनिश्चित गर्ने संविधानः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले सबैको अधिकार सुनिश्चित हुने संविधान निर्माणका लागि आफू प्रयासरत रहेको बताएका छन् । लोकतन्त्र र शान्तिका लागि पेशागत सञ्जाल (पापड) को प्रतिनिधिमण्डलसँग १० पुस बिहान बालुवाटारमा भेटका क्रममा उनले नयाँ संविधानमार्फत् सबैका हक अधिकार सुनिश्चित गर्न आफू प्रयासरत रहेको बताए ।
उनले संविधानका विवादित विषयमा सहमतिका लागि सबै पक्षले केही न केही छोड्नुपर्नेमा जोड दिए । देशमा आन्दोलन र द्वन्द्व नभई सहमति र अमनचयन आवश्यक भएको उनको भनाइ छ ।
उनले सकेसम्म सहमतिमै संविधान नभएमा प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्ने बताए । उनले सहमतिका लागि दलहरुबीच विश्वासको वातावरण बन्दै गएको बताए ।
रासस
