समाचारशनिबार, आश्विन २७, २०६९

संक्रमणकाल पीडादायी भयोः राष्ट्रपति

हिमालखबर

नेपाल चेम्बर अफ कमर्सद्वारा २७ असोजमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति यादवले राजनीतिक परिवर्तनपछि मुलुकमा शान्ति, स्थिरता र विकास हुन्छ भनेर आशा गरेका जनताका लागि सङ्क्रमणकाल निकै पीडादायी हुन पुगेको प्रष्ट पारे । उनले राष्ट्रलाई केन्द्रविन्दुमा राखेर दलहरूलाई सहमतिबाटै छिटो निकास खोज्न आग्रह गरे ।

राष्ट्रपति यादवले अन्तरिम संविधानले यो देशमा एउटा राष्ट्रपति हुनेछ, त्यसको प्रमुख कर्तव्य संविधानको रक्षा र पालना गर्नु हुनेछ भन्ने लेखिएको छ भन्ने नबिर्सन दलका नेताहरूलाई चेतावनी दिंदै भने, “अब मैले संविधानको रक्षा र पालना गर्ने कुरा हो, त्यो पुस्तक (संविधान) लाई मैले धुपबत्ती देखाउने, पूजा गर्ने कि रक्षा गर्ने ?”

सर्वोच्च अदालतले उपयुक्त प्रबन्ध गर्न पनि सुझाव दिएको तर कानुनबिना नै चुनाव घोषणा गरेर सरकारले ठूलो गल्ती गरेको राष्ट्रपतिले स्पष्ट शब्दमा भने । उनले थपे, “संविधानसभाले गल्ती गर‍्यो, सरकारले अझ गल्ती गर‍्यो, संविधानसभाको चुनाव घोषणा गर‍्यो ।”

आफूसँग दलहरुले पटक पटक सहमति कायम गर्ने प्रतिबद्धता गरे पनि पूरा नगरेको भन्दै आवेगपूर्ण रुपमा प्रस्तुत भएका राष्ट्रपतिले अगाडि भने, “सहमति खुद्रामा नभएर थोकमै हुनुपर्छ ।” उनले थपे, “राष्ट्राध्यक्षदेखि किसानसम्म सबैलाई संवैधानिक निकायमा पदपूर्ति होस्, पूर्ण बजेट आओस्, सहमतिको सरकार बनोस्, चुनावी प्रक्रिया सुरु होस् र त्यसका निम्ति तिथि निर्धारण होस् भन्ने चासो र चिन्ता छ । त्यो पनि खुद्रामा होइन थोकमै चाहियो, त्यसका लागि सरकार र खासगरी राजनीतिक दलहरूको जिम्मेवारी बढी छ ।”

संसद् नहुँदा एक तिहाई वा पूर्ण बजेट ल्याउने व्यवस्था संविधानको कुनै पनि धारामा नरहेको चर्चा गर्दै राष्ट्रपति यादवले प्रश्न गरे, “संसद् नरहेको अवस्थामा कसरी बजेट आउँछ ?” उनले भने, “बजेटको लागि दलहरूको सहमति चाहिन्छ, पूर्ण बजेटका लागि संविधानमा कुनै व्यवस्था छैन जहाँबाट पानी (बजेट) आओस्, त्यसको लागि संविधानले भनेको राजनीतिक दलहरूको सहमति चाहिन्छ ।”

संविधानसभाबाटै संविधान आउन नसक्नुमा संविधानसभा असफल भयो वा दलहरू असफल भए भन्दै राष्ट्रपति डा यादवले सर्वोच्च अदालतले संविधानसभाबाट संविधान आउन नसके स्वतः जान्छ भनेको तर ती कुराहरूलाई संविधानसभा, सभाध्यक्ष तथा दलहरूले आत्मसात गर्न नसकेको गुनासो गरे ।

राष्ट्रपति यादवले राष्ट्राध्यक्ष र सर्वसाधारण किसानसम्म सबैलाई राजनीतिक निकास, संविधान निर्माण र सङ्क्रमणकालको छिटो अन्त्य चाहिएको प्रष्ट पारे । “संविधान जारी गरेर प्राप्त उपलब्धिलाई संस्थागत गरौँ, यो संविधानलाई बचाउँदै अर्काे संविधान ल्याऊँ, राष्ट्रलाई केन्द्रविन्दुमा राखाँै र राष्ट्रको लागि समर्पित भएर काम गरौँ,” राष्ट्रपति डा यादवले भने ।

उनले एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका प्रमुख दलहरूलाई राजनीतिक निकासका लागि बढी सक्रिय हुन आग्रह गर्दै सहमतिका लागि आफूले अनुनय गर्दै आएको पनि उल्लेख गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>