समाचारशुक्रबार, पौष ११, २०७१
सेती आयोजनाको काम अगाडि बढाउन प्रधानमन्त्रीको पुनः निर्देशन
प्रधानमन्त्री सुशील कोइरालाले तनहुँ सेती जलविद्युत् आयोजनामा देखिएको अवरोधलाई दुई दिनभित्र समाधान गर्न ऊर्जा मन्त्री राधा ज्ञवालीलाई पुनः निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ऊर्जा मन्त्री ज्ञवाली, अर्थमन्त्री डा रामशरण महतलगायतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले वैदेशिक लगानीलाई मुलुकको हितमा प्रयोग गर्न पनि कुल १४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत आयोजनामा देखिएको अवरोध हटाउन निर्देशन दिएका हुन् ।
उनले विगतमा अगाडि बढाइएको प्रतिबिद्धताबमोजिम नै परामर्शदातालाई काम गर्न दिन र कुनै पनि अवरोध उत्पन्न हुने काम नगर्न ऊर्जा मन्त्रालयलाई आग्रह गरेको छलफलमा सहभागी काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री कोइरालाको निर्देशनपछि ऊर्जा मन्त्री ज्ञवालीले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग आवश्यक परामर्श गरेर आफ्नो निर्णय पुनः विचार गर्ने बताएकी थिइन् ।
ऊर्जा मन्त्रालयले तनहुँ सेतीे आयोजनाको परामर्शदाता जर्मन कम्पनी ल्यामेयरको अनुमतिपत्र खारेज गरी नयाँ प्रक्रिया अगाडि बढाएपछि लगानीकर्ता एशियाली विकास बैंक (एडिबी) असन्तुष्ट बन्दै आएको तथ्य सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री कोइरालाले सोही परामर्शदातालाई काम अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिँदै अनावश्यक विवाद नगर्न तथा मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत ख्याल गर्न यसअघि पनि ऊर्जा मन्त्रालयलाई आग्रह गरेका थिए ।
आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन इन्भेस्टमेन्ट बैंकलगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायले लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा ऊर्जा मन्त्रालयकै छानबिन समितिले समेत जर्मन कम्पनी नै काम गर्न सक्षम रहेको भन्दै प्रतिवेदन दिएको भए पनि मन्त्रिस्तरीय निर्णय गरी अनुमतिपत्र खारेज गरिएको आरोप लाग्दै आएको छ ।
कुल रु ५० अर्ब लागत रहेको सो आयोजना सन् २०१८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ऊर्जाको पछिल्लो निर्णयपछि आयोजना अझ दुई वर्ष पर धकेलिएको छ ।
