समाचारआइतबार, पौष १३, २०७१
चाँडै न्यायाधीश नियुक्त गरिन्छः प्रन्या साह
सर्वोच्च अदालतका प्रधान न्यायाधीश रामकुमारप्रसाद साहले सर्वोच्च अदालतमा खाली रहेका न्यायाधीश पदमा चाँडै पूर्ति हुने बताएका छन् ।
समयमै न्यायाधीशको पदपूर्ति नहुँदा फैसलामा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पदपूर्तिका लागि प्रक्रिया थालिएको जानकारी दिए ।
लुम्बिनी अञ्चलमा रहेका अदालतहरुको अवस्था बुझ्ने क्रममा तौलिहवास्थित कपिलवस्तु नमुना अदालतको निरीक्षणपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले निर्णय गरिसकेको छ, अब चाँडै नै नियुक्ति प्रक्रिया अघि बढ्छ ।”
सर्वोच्चमा अहिले १२ जनामात्र स्थायी न्यायाधीश रहेका छन् । जब कि १५ स्थायी र १० अस्थायी न्यायाधीश गरी सर्वोच्चमा २५ जनासम्म न्यायाधीश नियुक्त गर्न पाउने प्रावधान छ ।
न्याय सेवालाई छिटो छरितो गर्नका लागि आफू लुम्बिनी अञ्चलका जिल्ला अदालतको निरीक्षण र अनुगमनमा हिँडेको जानकारी दिँदै उनले जिल्ला अदालतमा तत्कालै सहायता कक्ष (हेल्प डेस्क) स्थापनाका लागि निर्देशन दिएको बताए ।
“सेवाग्राहीलाई सजिलोका लागि तत्कालै हेल्प डेस्क स्थापना गर्न निर्देशन दिएको छु” साहले भने, “हेल्प डेस्कले सेवाको प्रभावकारीमा वृद्धि हुन्छ ।”
मुद्दाको प्रवाहलाई ध्यानमा राखी अदालतका सेवाहरु इन्टरनेट मार्फतसमेत उपलब्ध गराउने तयारी भएको पनि उनले बताएका थिए ।
यसैबीच, प्रधान न्यायाधीश साहले तिलौराकोट र प्राचीन ताम्रेश्वर महादेव मन्दिरको अवलोकन भ्रमण पनि गरेका छन् ।
तिलौराकोटको पूर्वी र पश्चिमी द्वार तथा मुख्य दरबार, निर्माण भइरहेको परिक्रमा पथको निरीक्षण गरेका उनले ताम्रेश्वर मन्दिरमा पूजापाठसमेत गरेका थिए ।
