समाचारआइतबार, आश्विन २८, २०६९
‘सुदुरपश्चिमलाई सरकारको सौतेलो व्यबहार’
कञ्चनपुरमा आयोजित दुईदिने बृहत् अन्तर्राष्ट्रिय साहित्य, कला, संस्कृति र पर्यटन सम्मेलनको समापनमा १७ बुँदे घोषणपत्र जारी गर्दै साहित्कारहरुले लोकसाहित्य र भाषाको धनी सुदूरपश्चिमलाई सौतेलो व्यवहार गरेका भनी दुःख प्रकट गरेका हुन् ।
“भौगोलिक हिसाबले राज्यबाट हामी विभेदमा परेको यथार्थ हामी सबैलाई थाहा नै छ” घोषणापत्र जारी गर्दै साहित्यकार रामचन्द्र नेपालले भने, “साहित्का हिसाबले यो हुनुहुदैन, यो क्षेत्र साहित्य, संस्कृतिका लागि धनी छ ।”
“भारतमा महात्मागान्धी र दक्षिणी अफ्रिकामा नेल्सन मण्डेलाले अप्ठेरो अवस्थामा भूमिका देखाए” पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्दले भने, “अप्ठेरो परेको बेलामा साहित्यकारको भूमिका देखिनुपर्छ ।” बैतडीका चन्द सुदूरपश्चिमबाट पहिलो मदन पुरस्कार पाउने साहित्यकार हुन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य यज्ञराज उपाध्यायले नेपालको पहिलो नाटक लेख्ने पहलमानसिह स्वाँरदेखि मदन पुरस्कार विजेता जन्माउने सुदूरपश्चिम साहित्य र लोक संस्कृतिका हिसाबले धनी भएको बताए । “यसको विकास र संरक्षणमा हामी सबै दायित्व हो” उनले भने ।
सम्मेलनले सुदूरपश्चिमको साहित्य र संस्कृतिको संरक्षणका लागि विशेष प्राथमिकता राख्न सरकारसित माग गरेको छ । महाकाली साहित्य सङ्गमले आयोजना गरेको सम्मेलन समापन अवसरमा घोषणापत्र जारी गरिएको हो ।
सुदूरपश्चिम क्षेत्रको भाषा, संस्कृति, साहित्य र पर्यटन क्षेत्र संरक्षण तथा प्रवद्र्धनका लागि टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा नेपाल र भारतका प्राज्ञ, साहित्यकार, इतिहासकारलगायतको सहभागिता थियो । साँझसम्म गरिएको कवि सम्मेलनमा दुई सयभन्दा बढीले कविता वाचन गरेका थिए ।
