समाचारमंगलबार, पौष १५, २०७१

एयर एशियाको वेपत्ता विमानका टुक्रा समुद्रमा भेटिएको पुष्टी

हिमालखबर

AIRASIA SEARCH OPERATION.img_assist_custom-640x427एयर एशियाको १३ पुसदेखि वेपत्ता विमान क्यूजेड ८५०१ का अवशेष (टुक्राटाक्री) समुद्रमा फेला परेको इन्डोनेसियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

इन्डोनेशियाको यातायात मन्त्रालयका निर्देशक जोको मुर्जात्मोजोले विमानको टुक्राहरु फेला परेको ठाउँमा खोजी कार्य सघन बनाइएको बताएका छन् ।

“समुद्रमा भेटिएका रातो र सेतो रंगका टुक्राटाक्री एयर एशियाको विमानको भएको पुष्टि भएको छ,” इन्डोनेशियाबाट प्रकाशन हुने जाकर्ता पोष्टको अनलाईन संस्करणले उल्लेख गरेको छ ।

कालिमन्तानको पूर्वी भागमा जाभा समुद्रमा विमानका टुक्रा, यात्रुका सामान र केही शवसमेत देखिएको रोयटर्सले उल्लेख गरेको छ ।

सीएनएनले उक्त क्षेत्रमा खोजीका लागि हिंडेका पानी जहाजहरुले उत्पन्न गरेको प्रवाहले जहाजका टुक्रा र सामानहरु चारैतिर छरिएको हुनसक्ने इन्डोनेशियाली खोजी तथा राहत उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएको छ ।यसअघि क्यूजेड ८५०१ विमान दुर्घटना भएर समुद्रको पिंधमा पुगेको हुनसक्ने इन्डोनेसियाको खोज तथा उद्दार एजेन्सी प्रमुख बम्बांग सोएलिस्ट्योले बताएका थिए ।

airasia“अहिलेसम्म प्राप्त सूचना र खोज कार्यबाट विमान समुद्रको पिंधमा पुगेको अनुमान गरेका छौं,” सोएलिस्ट्योले भनेका थिए ।

बिमानको खोजीमा इन्डोनेशिया, सिंगापुर र मलेशियाका सैन्य विमान परिचालित भएका छन् भने  अमेरिकाले पानी जहाज र विमान पठाएको छ।

इन्डोनेशियाबाट सिंगापुर जाँदै गरेको क्यूजेड ८५०१ कल साइनको एयर एशियाको विमान ‘एयरबस ए ३२०–२००’ १३ पुसमा वेपत्ता भएको थियो ।

त्यसबेला विमान बेलिटुङ टापुदेखि १४५ किमी टाढा समुद्रमा खसेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरे पनि सरकारी अधिकारीहरुले विमान समुद्रमा खसेको पुष्टी भइनसकेको बताएका थिए । विमान दुर्घटना भएको ठानिएको क्षेत्रमा भारी वर्षा र अँध्यारो भएकोले खोजी कार्यमा कठिनाइ भएको खोजीमा संलग्न अधिकारीहरुले बताएका थिए ।

विमानमा ५ जना चालकदलका सदस्यसहित १६२ यात्रु सवार थिए । जसमध्ये १५६ जना इन्डोनेशियाली, तीन जना दक्षिण कोरियाका साथै सिंगापुर, फ्रान्स र मलेशियाका एकएक जना रहेको एयरलाईन्स कम्पनीले जनाएको छ ।

खराब मौषमका कारण विमानले एयर ट्राफिक कन्ट्रोलरलाई वैकल्पिक मार्गका बारेमा सोधेको र त्यसलगत्तै सम्पर्कविहिन भएको इण्डोनेशियाली अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार इण्डोनेशियाको सुराबायाबाट विहान ५:३५ मा उडेको विमान ४२ मिनेटपछि सम्पर्कविहिन भएको थियो ।

उडान तालिका अनुसार उक्त विमान सिंगापुरमा स्थानीय समय अनुसार विहानको ८:३० बजे पुग्नुपर्ने थियो ।

इन्डोनेशियाको एयर एशियामा ४९ प्रतिशत लगानी मलेशियामा मुख्यालय भएको एयर एशियाको छ ।

यसअघि मलेशियाको राष्ट्रिय विमान सेवा मलेशिया एयरलाइन्सका दुई वटा विमान ‘एमएच ३७०’ र ‘एमएच १७’ यसै वर्ष दुर्घटनामा परिसकेका छन् ।

२३९ जना यात्रु र चालकदलका सदस्य बोकेको ‘एमएच ३७०’ विमान गत मार्च महिनामा क्वालालम्पुरबाट बेजिंग जाँदै गर्दा वेपत्ता भएको थियो जसको अहिलेसम्म केही पत्ता लागेको छैन ।

त्यसैगरी २९८ यात्रु बोकेको ‘एमएच १७’ विमान युक्रेनमा मिसाइल आक्रमणमा परी दुर्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>