समाचारबुधबार, पौष १६, २०७१
सुदूरमा बल्झिँदै एचआइभी एड्स
पछिल्लो एक वर्षमा मात्रै सुदूरपश्चिम क्षेत्रमा एचआइभी सङ्क्रमितको सङ्ख्या करिब ३५० ले बढेको छ ।
सुदूरपश्चिम देशभर सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या भएको क्षेत्र हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रका ६ हजार २३८ जनामा रगत परीक्षणपछि एचआइभी सङ्क्रमण देखिएको छ ।
सङ्क्रमितमध्ये १०० भन्दा बढी १५ वर्षमुनिका बालबालिका रहेका छन् ।
एक वर्षअघि सङ्क्रमितको सङ्ख्या ५ हजार ९०४ थियो । करिब ६ हजारकै हाराहारीमा खुल्न नसकेका सङ्क्रमित रहेको अधिकारीको अनुमान छ ।
गरिबी, अशिक्षा, चेतनाको कमी तथा स्वास्थ्यमा सहज पहुँच नहुनुलगायत कारणले ५० प्रतिशत सङ्क्रमित समाजमा लुकेरै बसेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको अनुमान रहेको निर्देशनालयका दयाकृष्ण पन्तले बताए ।
“गाउँगाउँमा एचआइभी जाँचको सुविधा छैन । सदरमुकाम आएर रगत परीक्षण गर्ने निकै कम हुन्छन”, पन्तले भने, “त्यसैले खुल्न नसकेका सङ्क्रमितको सङ्ख्या धेरै छ ।”
स्वास्थ्यकर्मीले एचआइभी सङ्क्रमितको सङ्ख्या बर्सेनि बढ्नुका मुख्य कारण यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत जानु र त्यहाँबाट सङ्क्रमित भएर आएपछि अरुमा पनि सार्नु रहेको मानेका छन् ।
गरिबीले सुदूरपश्चिमका अधिकांश पुरुष कामका लागि भारत जान्छन् । भारतबाट सङ्क्रमित भएर फर्केकाले सङ्क्रमित भएको थाहै नपाएर घरमा श्रीमतीलाई सार्ने र सावधानी नअपनाउँदा उनीहरुबाट जन्मेको बच्चामा पनि सङ्क्रमण देखिने गरेको एचआइभी फोकल पर्सन पन्तको भनाइ छ ।
सङ्क्रमित महिलाको सङ्ख्या पुरुषकै हाराहारीमा छ । सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या बढी भएका जिल्लामा कैलाली, कञ्चनपुर, अछाम र डोटी छन् । सङ्क्रमितको सङ्ख्या वृद्धिदर पनि यी चारवटै जिल्लामा अन्य जिल्लाको तुलनामा बढी भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।
कैलालीमा सबैभन्दा बढी दुई हजार ९४८, अछाममा एक हजार ३९१, डोटीमा ९९५, कञ्चनपुरमा ४२०, बैतडीमा १५६ र डडेल्धुरामा १४९ जना सङ्क्रमित छन् ।
पछिल्लो एक वर्षको अवधिमा कैलालीमा मात्रै १५० जना सङ्क्रमित थपिएका छन् । यस्तै पछिल्लो वर्ष बझाङमा ८२, बाजुरामा ७४ र दाुर्चलामा २३ जनामा एचआइभी सङ्क्रमण देखिएको छ ।
निर्देशनालयका अनुसार सङ्क्रमितमध्ये करिब तीन हजारले एआरटी सेवा लिइरहेका छन् । सङ्क्रमितको रगतमा सिडिफोर जीवाणु ३५० भन्दा कम देखिए नियमित औषधि सेवन गर्नुपर्छ ।
हालसम्म यस क्षेत्रमा एचआइभीका कारण ३५० जनाभन्दा बढीको मृत्यु भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
एचआइभीका लागि सरकारी बजेट र कार्यक्रम कम हुनु, अन्य क्षेत्रभन्दा गरिबी र अशिक्षा यस क्षेत्रमा बढी हुनु, स्वास्थ्यमा सहज पहँुच नहुनु एचआइभी रोकथामको प्रमुख चुनौती रहेको निर्देशनालयको भनाइ छ ।
एचआइभी रोकथामका लागि भन्दै दर्जनौँ संस्था कार्यरत रहे पनि सङ्क्रमण दर बर्सेनि बढ्दो क्रममा छ । एचआइभीका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्न सकेमात्रै पनि एचआइभी सङ्क्रमणको रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने स्वास्थ्यकर्मी बताउँछन् ।
शेरबहादुर सिंह, रासस
