थप समाचारबुधबार, पौष १६, २०७१
सुन्तलाको भाउ कुर्दै किसान
–सविता श्रेष्ठ, चितवन
चितवनको पहाडी गाविसका किसानले राम्रो भाउ पाउने आशमा अझैसम्म सुन्तला बिक्री गरेका छैनन् । चितवनको काउलेका किसान आफूले फलाएको सुन्तलाले अझै पनि भाउ पाउने आशामा छन् ।
लटरम्म फलेको सुन्तलाले अझैसम्म काउले गाउँलाई सुन्तलामय बनाएको छ । “अरु सालमा पुसभन्दा पहिले नै सुन्तला बिक्री गरिसक्यौं, तर यसपाली भाउ छैन,” किसान धोजबहादुर राना मगरले बताए । उनी आफूले फलाएको सुन्तलाले भाउ पाउने बताउँछन् ।
किसानले फलाएको सुन्तलाको भाउ अहिले किलोमा रु.३५–४० मात्र छ । मगर भन्छन्, “५० भन्दा तलको भाउमा बेच्दा लागत पनि उठ्दैन ।” उनले आफ्नै बारीमा तीन सय भन्दा बढी बोट सुन्तला फलाएका छन् ।
काउलेको वडा नं. ६ मा मात्र २५ घरधुरीले सुन्तला खेती गरिरहेका छन् । उनीहरुको मुख्य आयस्रोत नै सुन्तला हो ।
तर, यो वर्ष सुन्तलाको राम्रो उत्पादन भएर पनि भाउ नपाएको किसानको गुनासो छ । अझै पनि भाउ नपाए घाटामै पनि सुन्तला बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ ।


