समाचारबुधबार, पौष १६, २०७१
कार्यव्यवस्था बैठकमा शीर्ष नेता नै अनुपस्थित
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शीर्ष नेताहरु अनुपस्थित हुँदा स्थगित भएको छ । बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतका नेता उपस्थित भएनन् ।
नेम्बाङले १६ पुसमा संविधान निर्माण गर्ने क्रममा कार्यतालिका परिमार्जन, प्रक्रियामा जाने अथवा सहमति कायम गर्ने भन्ने विषयमा शीर्ष दलका नेतासँग छलफल गर्न परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले शीर्ष नेताहरु नआउने भएपछि १७ पुस बिहान साढे ११ बजे बस्ने गरी बैठक स्थगित भएको जनाएको छ ।
सभाध्यक्ष नेम्बाङले कार्यतालिका परिमार्जन एवं प्रक्रियामा जाने बारे १५ पुसमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग परामर्श गरेका थिए ।
