समाचारबिहीबार, पौष १७, २०७१
मोर्चाको आन्दोलन तयारीः प्रतिरोध गर्न फौजी तालिम

किरात स्वायत्त राज्य स्थापनाका लागि भन्दै काेटेश्वरमा अान्दाेलनकाे तयारीमा शारिरीक अभ्यास गर्दै युवाहरु ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ३० दलीय मोर्चाले आम हड्तालसहितको आन्दोलनका लागि शारिरीक तालिम लिएका युवाहरु परिचालन गर्ने भएको छ ।
त्यसका लागि एमाओवादीले विभिन्न जातीय फोर्स निर्माण गरेर उनीहरुलाई पूर्व लडाकूबाट तालिम दिलाउन थालेको छ । तालिम प्राप्त युवाहरुलाई आन्दोलनमा परिचालन गर्ने र प्रतिरोधमा उतार्ने मोर्चाको योजना छ ।
एमाओवादीका स्थायी कमिटी सदस्य गोपाल किराँतीको नेतृत्वमा विभिन्न जातीय फोर्स निर्माण गरिएको छ । ११ मंसीरमा गठन गरिएको किराँत फोर्सलाई कोटेश्वरस्थित किराँत राई यायोक्खाको केन्द्रीय कार्यालयमा शारिरीक अभ्यास एवम् तालिम दिइँदै छ ।
माओवादीका पूर्व कमाण्डर सुरेशकुमार राईले झण्डै २५० युवालाई शारिरीक तालिम दिइरहेका छन् । किराँत स्वायत्त राज्य स्थापनाका लागि यी युवाहरुलाई परिचालन गर्न झण्डै रु. १० करोड खर्च लाग्ने एमाओवादीको अनुमान छ ।
एमाओवादीका केन्द्रीय सदस्य रामकुमार राईले भने, ‘‘युवाहरुलाई फौजीकरण गर्न शारिरीक तालिम दिइएको हो, यसले पहिचानसहितको संविधान जारी गर्न दबाव दिनेछ ।’’ उनले लिम्बु, गुरुङ, मगर, नेवार र तामाङको छुट्टा–छुट्टै फोर्स बनाइएको जानकारी दिए ।
‘पहिचानसहितको संघीयता’ स्थापना गर्न भन्दै संविधानसभामा प्रतिनिधित्व गर्ने १९, संविधानसभा बाहिरका ११ र विभिन्न जातीय संस्थाहरु संलग्न मोर्चाले आमहड्तालसहितको आन्दोलनको घोषणा गरेको छ ।
पहिलो संविधानसभा विघटन हुनुअघि पनि एमाओवादीले गाउँगाउँबाट यसरी नै तालिम दिएर कार्यकर्ता काठमाडौंमा उतारेको थियो । तर, ६ दिनपछि आन्दोलन फिर्ता लिइएको थियो ।

किरात स्वायत्त राज्य स्थापनाका लागि भन्दै काेटेश्वरमा अान्दाेलनकाे तयारीमा शारिरीक अभ्यास गर्दै युवाहरु ।

