समाचारशनिबार, पौष १९, २०७१

न्यायाधीश बमको हत्याका आरोपी चुरेभावरका तत्कालीन नेता बाबु थापासहित ४ जना पक्राउ

हिमालखबर

न्यायाधीश रणबहादुर बमको हत्याका प्रमुख आरोपी बाबु थापा (बायाँबाट दोस्रो) अन्य आरोपीका साथ । तस्वीर: देवकी बिष्ट

न्यायाधीश रणबहादुर बमको हत्याका प्रमुख आरोपी बाबु थापा (बायाँबाट दोस्रो) अन्य आरोपीका साथ । तस्वीर: देवकी बिष्ट

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बाबु थापासहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले न्यायाधीश बमको हत्याको आरोपमा प्रमुख योजनाकार भनिएका चुरे भावर राष्ट्रिय एकता पार्टीका तत्कालीन नेता बाबु थापासहित करण भनिने शिव चौधरी, नविन भनिने प्रेमराज खड्गा र दीपक कर्णलाई पक्राउ गरेको छ । त्यस्तै हत्यामा संलग्न सञ्जय भनिने भगवान मगर फरार रहेको र हाल खाडी पुगेको प्रहरीले जनाएकोे छ ।

पक्राउ परेका आरोपीलाई प्रहरीले १९ पुसमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरी मुख्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले न्यायाधीश बम हत्या अहिलेसम्मकै ‘हाइप्रोफाइल घटना’ भन्दै अपराधिलाई घटना भएको २ वर्ष ७ महिनापछि पक्राउ गर्न सकिएको बताए ।

घटना अनुसन्धानमा त्यसबेला डिआजी छँदा अर्याल आफैं खटिएका थिए । उनले न्यायाधीश बम हत्याको घटना प्रहरीका लागि समेत चुनौति भएको बताए ।

न्यायाधीश बमको हत्या चुरे भावर एकता परिषदका तत्कालीन नेता बाबु थापाले आफ्नो विपक्षमा सर्वोच्चले फैसला सुनाएको झोंक गराएको सिआइबीका डिआइजी हेमन्त मल्लले जानकारी दिए ।

चुरे भावर एकता परिषदमा अध्यक्षताका लागि केशव मैनाली र बाबु थापाबीच विवाद भई बाबु थापाले पार्टीमा कब्जा जमाएपछि मैनालीले सर्वोच्चमा उनी विरुद्ध रिट दायर गरेका थिए ।

त्यसबेला न्यायाधीश बमको इजलासले मैनालीलाई पार्टी अध्यक्ष कायम गरेको थियो । सर्वोच्चले आफू विपरित फैसला गरेको भन्दै असन्तुष्ट रहेका थापाले न्यायाधीश बमको हत्या योजना बनाएको थापाले प्रहरीलाई बयान दिएको डिआइजी मल्लले बताए ।

उनले आफू पार्टीको अध्यक्ष भएमा सरकारमा गृहमन्त्री पाउने तय भइसकेको पनि दाबी गरेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विशेष टोली बनाएर ‘अपरेशन शंखमुल’ मा खटिएको थियो ।

आरोपीहरुले हत्याका दिन विहान बंगलामुखि मन्दिर दर्शनका लागि पुगेका न्यायाधीश बमलाई मन्दिरदेखि नै पिछा गरेको बयान दिएका छन् ।

प्रहरीका अनुसार एक एकवटा पिस्तोल बोकेका बाबु थापा, भगवान मगर र दीपक कर्णसहित अन्य दुईजना तीनवटा मोटरसाइकलमा १८ जेठ २०६९ बिहान बंगलामुखि मन्दिर पुगेका थिए ।

मन्दिर दर्शन गर्न पुगेका न्यायाधीश थापालाई उनीहरुले बंगलामुखि मन्दिरमै गोली हान्न खोजे पनि सफल नभएपछि उनको गाडीको पिछा गर्दै शंखमुलसम्म पुगेका थिए ।

शंखमुलमा ओभरटेक गरी गाडी रोकपछि शिव चौधरीले न्यायाधीश बमका अंग रक्षकलाई गोली हानेका थिए भने कर्ण र भगवानले न्यायाधीश बममाथि गोली प्रहार गरेका थिए ।

गोली हानेपछि भगवान थापा पर्चा छरेर फरार भएका थिए भने बाबु थापा एकछिन त्यहीं रुकेर पुल पार गरी काडाघारी आफ्नो निबास फर्केको प्रहरीले बताएको छ ।

पक्राउ परेका सबै सर्लाही र धनुषाका हुन् । उनीहरुले हत्यामा चोरीको मोटरसाइकल प्रयोग गरेको डिआइजी मल्लले जानकारी दिए ।
न्यायाधीश बममाथि काठमाडौंको शंखमुल नजिक बागमती किनारमा १८ जेठ २०५९ बिहान ११ बजे तीन राउण्ड गोली प्रहार भएको थियो भने उनका अंगरक्षकलाई पनि गोली हानिएको थियो ।

गोली प्रहारबाट घाइते न्यायाधीश बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>