समाचारशनिबार, पौष १९, २०७१
माघ ८ मै संविधान जारी हुन्छ: नेताद्वय नेपाल र खनाल
नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले दलहरूबीच सहमति हुन नसके प्रक्रियामै गएर भए पनि ८ माघमै संविधान जारी गरिने दाबी गरेका छन् ।
नेपाल र खनाल दुवैले आ–आफ्ना गृह जिल्लामा आयोजित कार्यक्रममा संविधानका विवादित विषयमा एमालेको धारणा स्पष्ट रहेको र सहमति नभए प्रक्रियामा गएरै भए पनि समयमै संविधान जारी गरिने बताएका हुन् ।
रौतहटको चन्द्रपुर– १२ सन्तपुरमा आयोजित शीतलहर पीडित परिवारलाई न्यानो कपडा वितरण समारोहपछि पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले तोकिएको मितिमा संविधान जारी गर्न गम्भीर छलफल र बहसको आवश्यकता रहेको बताए ।
एमालेमा बहुजातीय पहिचान र सामथ्र्यका आधारमा सङ्घीयताको स्पष्ट खाका रहेको बताउँदै उनले प्रदेशको सङ्ख्यामा लचकता देखाउन एमाले तयार रहेको भने ।
त्यस्तै नेता खनालले इलामको सूर्याेदय नगरपालिकामा आयोजित कार्यक्रममा राजनीतिक दलबीच बढ्दै गइरहेको विश्वासको वातावरणले तोकिएको समयमा नै संविधान जारी गरिने बताए ।
“सहमतिका लागि हदैसम्मको लचकता अपनाइरहेकाले सहमति हुन्छ र माघ ८ मै संविधान जारी हुन्छ”, खनालले भने, “यदि अन्तिम समयमा पनि सहमति हुन सकेन भने लोकतान्त्रिक विधि र प्रक्रियाबाट भए पनि संविधान जारी गरिन्छ ।”
खनालले अधिकतम लोकतान्त्रिक विधि र पद्धति भनेको संविधानमा भएका राजनीतिक दलको दुई तिहाइ बहुमतबाट पनि संविधान जारी गर्न सकिने बताएका थिए ।
