समाचारशनिबार, पौष १९, २०७१

तीन दिनमा सहमति हुन्छ, नभए प्रक्रियामा गइन्छः प्रम कोइराला

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले दलहरुबीच अबको तीन दिनमा संविधानका विवादित विषयहरुमा सहमति नभए प्रक्रियाबाट भए पनि ८ माघमै संविधान जारी गर्ने दाबी गरेका छन् ।

प्रधानन्यायाधीश रामकुमार साहलाई सम्मान गर्न महोत्तरी परिवारद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले अबको तीन दिन नयाँ संविधानका विवादित अन्तरवस्तुमा सहमति निकाल्न दलहरूबीचमा गहन रूपमा छलफल हुने र त्यसबाट निकास निस्कने बताएका छन् ।

महोत्तरी जिल्लाको मडियानीमा जन्मनुभई चारदशकदेखि कुशलतापूर्वक न्यायसम्पादनका क्षेत्रमा अतुलनीय योगदान दिएवापत् प्रधानन्यायाधीश साहलाई सम्मान गरिएको हो ।

उनले भने, “सभामुखले दलहरूले सहमति नगर्ने हो भने आफूले निकास निकाल्ने भनेपछि हामीहरूका बीचमा नयाँ ढङ्गले छलफल शुरु भएको छ, छलफलबाटै विवादित विषयका बारेमा टुङ्गो लाग्छ, कथंकदाचित निस्केन भने पनि माघ ८ मा नयाँ संविधान जारी हुन्छ ।”

कोइरालाले नयाँ संविधान जारी भएपछि आफू प्रधानमन्त्रीको पदमा नबस्ने जानकारी दिए ।

“म व्यक्तिगत रूपमा प्रधानमन्त्रीको आकाङ्क्षी थिइनँ तर समय, परिस्थिति र जनताको चाहनाले मात्र प्रधानमन्त्री भएको हुँ, मेरो चाहना भनेको निर्धारित मितिमा संविधान जारी गर्नु, विकासको मुहान फुटाउनु र देशलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउनु हो, यस कार्यमा म दिनरात खटिरहेको छु”, प्रधानमन्त्रीले भने ।

८ माघमा संविधान जारी नभए उत्पन्न हुने अकल्पनीय परिस्थितिको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री कोइरालाले छिटो सहमति कायम गर्न दलहरुलाई आग्रह गरे ।

मेरो पदावधि अविस्मरणीय हुनेछ: प्रधानन्यायाधीश साह

सम्मानित व्यक्तित्व प्रधानन्यायाधीश साहले सबैको अथक प्रयासबाट जनचाहना र भावनाअनुरूपको नयाँ संविधान जारी होस् भन्ने आफ्नो कामना रहेको बताए ।

उनले भने, “प्रधानमन्त्री कोइराला निर्धारित मितिमा संविधान जारी गर्नका लागि निरन्तर रूपमा लागिरहनुभएको छ, यस कार्यका लागि देश र जनताले गर्व गर्नुपर्छ ।”

उनले आफूले प्रधानन्यायाधीशको पद सम्हालेपछिको छोटो अवधिमा न्यायालयको आस्था अझ उँचो बनाउन विभिन्न कार्यको शुरुवात् गरेको जानकारी दिनुभयो । “मेरो प्रधानन्यायाधीसको पद छोटो अवधिको छ, तर म यसलाई अविस्मरणीय छाप छाडेर जान्छु”, उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>