समाचारसोमबार, पौष २१, २०७१
सभाध्यक्षलाई हस्तक्षेप गर्ने अधिकार छैनः महरा
एमाओवादी महासचिव कृष्णबहादुर महराले संविधान निर्माणमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई हस्तक्षेप गर्ने अधिकार नभएको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ प्यूठानले २१ पुसमा गरेको पत्रकार सम्मेलनमा उनले संविधान निर्माण र जारी गर्ने अधिकार राजनीतिक दललाई मात्रै भएको टिप्पणी गरे ।
उनले भने, “सभाध्यक्षले गर्न खोजेको हस्तक्षेप अलोकतान्त्रिक छ ।” उनले मुख्य विवादित विषयमा सहमति हुन सके पनि अब तोकिएको मितिमा संविधान नआउने ठोकुवा गरे ।
राज्य पुनःसंरचना, शासकीय स्वरुप र न्याय प्रणालीका विषयमा देखिएको मुख्य विवादमा २ जेठमा भएको सहमति कार्यान्वयन भए आफूहरू तत्काल सहमतिमा जाने उनले स्पष्ट पारे ।
संविधान जारी नहुनुको कारण सत्ता समीकरण र नेतृत्व मुख्य कारण भएको उनको भनाइ छ । उनले संविधान निर्माणका मुख्य विषयमा बाहेक अन्य विषयमा असहमति जनाउँदै पनि संविधान जारी गर्न सकिने बताए ।
विजयसिंह भारती, प्यूठान
