समाचारसोमबार, पौष २१, २०७१
दलहरुलाई अधिकतम लचक हुन कांग्रेसको आग्रह
नेपाली कांग्रेसले ८ माघमै संविधान जारी गर्नुको विकल्प नभएकाले अडानबाट अधिकतम लचक हुने निर्णय गरेको छ ।
२१ पुसमा प्रधानमन्त्री निवास वालुवाटारमा पदाधिकारी बैठक बसेर कांग्रेसले सहमतिका लागि अन्य दलहरुलाई पनि जिम्मेवार बन्न आग्रह गरेको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुलाई संविधानका मस्यौदामा सहमतिका लागि दिनुभएको समयसीमा आज सकिँदैछ । अर्काेतर्फ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभाका प्रस्तुत गरेको प्रतिवेदनमाथि सभासद्हरुले आफ्नो धारणा राख्ने क्रम नै छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति रामचन्द्र पौडेलले शासकीयस्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली एवम् राज्यको पुनःसंरचनाका विषयमा लचकता अपनाउन तयार रहेको बताए ।
दलहरुबीच संविधानमा रहने ती चार विषयमा अहिलेसम्म सहमति जुट्न सकेको छैन । कांग्रेसले संवैधानिक संवाद समितिमा कांग्रेस–एमाले–राप्रपाले प्रस्तावबाटै सहमति खोजिने जनाएको छ ।
