समाचारमंगलबार, पौष २२, २०७१
चन्दकाे पार्टी अर्ध भूमिगत !
अर्धभूमिगत शैलीको अभ्यास
- वैद्यसँग हुँदै विप्लव समूहद्वारा १८ कात्तिकको राति ‘नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिउँ’ भन्ने नारासहित देशभर ‘वालपेन्टिङ’
- कपिलवस्तुको शिवगढीमा २६ र २७ कात्तिकमा गोप्य भेला
- ११ देखि १३ मंसिरसम्म भएको बैठकद्वारा विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन, सात सदस्यीय हेडक्वार्टर र ६५ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति बनाए पनि नाम भने सार्वजनिक गरिएन
- ३ र १४ पुसमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकद्वारा रोल्पामा २३ र २४ पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय, रोल्पामा भइरहेको तयारीमा पानीले अवरोध गरेपछि दाङमा सम्मेलन हुँदै
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी अर्धभूमिगत शैलीमा चलिरहेको छ । भावी संघर्षको स्वरूप र खाकाबारे ठोस निर्णय लिन सो पार्टीको राष्ट्रिय सम्मेलन बुधबारबाट सुरु हुँदै छ ।
पूर्णत: गोप्य राख्ने भन्दै स्थान नखुलाइए पनि मौसमले साथ नदिएपछि सम्मेलन दाङमा गर्ने सो पार्टीको तयारी छ । यसअघि रोल्पामा सम्मेलन गर्ने गोप्य तयारी थियो । रोल्पाको बुढागाउँमा सम्मेलनको तयारी जारी रहेकै वेला पानीले मेस, हल र सजावटको तयारी रोकिएपछि सम्मेलन दाङमा गर्ने तय भएको स्रोतको भनाइ छ ।
नयाँ पार्टी गठनदेखि नै विप्लवले पार्टीका धेरै कामलाई अर्धभूमिगत शैलीमा चलाएका छन् । पार्टी दस्ताबेजको नीतिअनुसार नै यस्तो भइरहेको एक केन्द्रीय सदस्यले बताए । ‘पार्टीलाई क्रमश: भूमिगत, सहरबाट गाउँतर्फ केन्द्रित गर्ने योजनाअनुसार नै पार्टीका काम अगाडि बढेका हुन्,’ ती केन्द्रीय सदस्यले भने ।
नेकपा माओवादीको राजनीतिक प्रस्तावमै क्रमश: भूमिगत संगठन निर्माण गर्ने योजना तय गरिएको छ । ‘अहिलेको संघर्षको चरित्र एकीकृत क्रान्ति हो । यसको उद्देश्य दलाल पुँजीवाद तथा सामन्ती राज्यसत्तालाई विघटन गरेर जनवादी राज्यसत्ता स्थापना हो, यसका लागि केन्द्रीय सत्ताको उद्देश्यसहित गाउँ र सहरबाट आ–आफ्नो विशेषताअनुरूप राज्यसत्ता निर्माणको नीति लिने हुन्छ,’ प्रस्तावमा भनिएको छ, ‘पार्टीलाई क्रमश: भूमिगत र काठमाडौंबाहिर केन्द्रित गर्नुपर्छ ।’
सैन्य बल तयार गर्ने पनि राजनीतिक प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भनिएको छ, ‘सैन्य बलद्वारा प्रतिक्रियावादी राज्यसत्ताको ध्वंस, यसका लागि बलियो र नियमित सेना निर्माण गर्नुपर्छ । सर्वहारावर्गको अग्रदस्ता बनाउने सोचसहित पार्टीलाई खुकुलो र भद्दा हुनबाट जोगाउनुपर्छ ।’
विप्लव माओवादीले काठमाडौंको खुलामञ्चमा ११ पुसमा राजनीतिक सभाको आयोजना गरी माओजयन्ती मनाएको थियो । त्यसलगत्तै १३ र १४ पुसमा बसेको केन्द्रीय समिति बैठक र निर्णय गोप्य राखिएको छ । बैठकपछि सो पार्टीले विज्ञप्तिसमेत जारी गरेको थिएन ।
पार्टी गठनको डेढ महिना पुग्न लाग्दासमेत सम्पर्क कार्यालय नखोलेर विप्लवले आफ्नै नेता–कार्यकर्तालाई समेत नयाँ तरिकाले परिचालन गरेका छन् । अहिले उनले आफू बसेको घरबाट पार्टीका काम, भेटघाट जारी राखेका छन् ।
काठमाडौंभन्दा बाहिर नै नेताहरूलाई परिचालन गरेर उनले राजधानीबाट दूरीसमेत बनाउन खोजेका छन् । विप्लवपक्षीय केन्द्रीय तहका नेताहरूको ११ देखि १३ मंसिरसम्म चितवनमा भएको गोप्य भेलाले विप्लव संयोजकत्वमा नेकपा माओवादी प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति बनाएको थियो । सोही भेलाले थप कार्यक्रम र योजनाका लागि २३ देखि २६ पुससम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । अहिले त्यही सम्मेलनको तयारीमा पार्टीको पूरै शक्ति परिचालन भएको एक केन्द्रीय सदस्यले बताए ।
विप्लवले अहिले आफ्नो नेतृत्वमा गठन भएको सात सदस्यीय हेडक्वार्टर टिममार्फत कार्यक्रम अगाडि बढाएका छन् । उनको हेडक्वार्टरमा उनीबाहेक नेताहरू खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, सन्तोष बुढामागर, ईश्वरी दाहाल, चित्रबहादुर आले र ठाकुरप्रसाद चापागाईं छन् ।
राष्ट्रिय सम्मेलनपछि संघर्षका नयाँ कार्यक्रम आउने भनिए पनि विप्लव नेतृत्वको माओवादीले अहिलेको राजनीतिक निकासका लागि संविधानसभा विघटनको माग गरेको छ । ‘संविधानसभा विघटन गरी अधिकारसम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन र उक्त सभाबाटै सबै विषयको निकास निकाल्नुपर्ने यो पार्टीको माग छ ।
खुलामञ्चको कार्यक्रममा विप्लवले कठोर संघर्षमा जान तयार रहेको संकेत गरेका थिए । ‘संसद्वादीको पेलाइले हामी माओवादी धेरै पछाडि धकेलिएका छौँ, डिलमा नै पुगियो, अब जमेर लड्नुपर्ने वेला भयो । युद्ध नै मच्चाउने हो भने युद्धको जवाफ युद्धबाट दिन तयार छौँ, प्रतिक्रान्तिको जवाफ क्रान्तिबाट दिन्छौँ,’ विप्लवले भनेका थिए ।
यसअघि १५ मंसिरमा विप्लवले राष्ट्रिय स्वाधीनता र जनताको अधिकारका लागि सीमाहीन संघर्ष गर्ने दाबी गरेका थिए । ‘जनताको जनादेश वा जनमतअनुसार हामी अगाडि बढ्छौँ, संघर्ष कस्तो हुन्छ त्यसको कुनै सीमा हुँदैन, त्यो राज्यको रवैयामा भर पर्छ,’ विप्लवले भनेका थिए, ‘हामीले युद्ध चाहेका छैनौँ, शान्ति चाहेका छौँ, स्वाधीनता चाहेका छौँ, यदि यसका लागि बलिदान गर्नुपर्छ भने पनि हामी तयार छौँ ।’
त्यसो त, सो पार्टीको प्रस्तावमा राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसँगै सशस्त्र संघर्षको विषय समेटिएको छ । प्रस्तावमा भनिएको छ, ‘केन्द्रीय राज्यसत्तालाई केन्द्रमा राखेर सशस्त्र संघर्ष र जनसंघर्षलाई अगाडि बढाउनुपर्छ । वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिसँग संयुक्त मोर्चा बनाउन सकिनेछ ।’
कम्युनिस्ट पार्टीहरूसँग भाइचारा सम्बन्ध, कम्युनिस्ट सरकारसँग सन्तुलित सम्बन्ध र पुँजीवादी देशहरूसँग संघर्ष र सन्तुलनको नीति तय गरिनुपर्ने विप्लवको मान्यता छ ।
चन्दा अभियान तीव्र
राष्ट्रिय सम्मेलनको तयारीसँगै नेकपा माओवादीले चन्दा अभियानलाई पनि तीव्रता दिएको छ । सो पार्टीले ‘क्रान्तिका लागि’ भन्दै देशभर चन्दा संकलन अभियान थालेको छ ।
देशैभर उद्योगी–व्यवसायीलाई चन्दा दिन आग्रह गर्दै नेकपा माओवादीले पत्र दिएको छ । पत्रमा रकम तोकिएको छैन, तर नेकपा माओवादी संयोजक विप्लव आफैँले हस्ताक्षर गरेका छन् ।
स्रोतका अनुसार चन्दामार्फत मोटो रकम संकलन गर्ने योजना छ । तर, यति नै भन्ने पार्टी हाइकमान्डबाहेक अन्यलाई जानकारी दिइएको छैन । हरेक राज्य समितिलाई भने लक्ष्य दिइएको छ ।
‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा जनताको बलिदानबाट प्राप्त भएका उपलब्धिहरूको रक्षा गर्दै जनताको आफ्नै संविधान प्राप्त गर्ने अभियान प्रारम्भ गरेका छौँ,’ चन्दाका लागि लेखिएको पत्रमा भनिएको छ, ‘विगतमा जस्तै यसपटक पनि यहाँको संस्थाबाट आर्थिक/भौतिक सहयोगको अपेक्षासहित हामीले यो अनुरोधपत्र प्रस्तुत गरेका छौँ ।’
नेकपा माओवादी संयोजक विप्लवले केही दिनअघि नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा राष्ट्रिय सम्मेलनका लागि ‘आर्थिक सहयोग’ लिइने जानकारी दिएका थिए । विप्लवले दबाब वा धम्कीबाट चन्दा संकलन नगरिने नीति तय भएको पनि बताएका थिए । चन्दा संकलन र खर्च पारदर्शी बनाउने आफ्नो पार्टीको योजना रहेको पनि उनले दाबी गरेका थिए । स्रोतका अनुसार चन्दादातालाई हस्तलिखित नभई प्रिन्ट गरेको अर्धकट्टी दिइने गरेको छ । यसो गर्दा चन्दादाताले दिएको रकम यति हो भन्ने यकिन गर्न सजिलो भएको सो पार्टीका एक नेताले बताए ।
शैक्षिक संस्थामा पनि चन्दाको पत्र
उच्च माध्यमिक विद्यालय संघ (हिसान) उपाध्यक्ष रमेश सिलवालले स्कुल तथा कलेजहरूमा चन्दाका लागि नेकपा माओवादीको पत्र आएको बताए । शिक्षामा माफियाकरण बढेको र त्यसका विरुद्ध लड्न भन्दै पैसा मागिएको पनि उनको भनाइ छ ।
‘कुनै शैक्षिक संस्थामा पार्टीको त कुनैमा विद्यार्थी संगठनको नामबाट चिठी आएका छन् । चिठीमा पैसा तोकेका छैनन्, तर प्रेसर दिइरहेका छन्,’ सिलवालले भने, ‘पार्टी फुट्ने भनेको हामीलाई चन्दाको भार बढ्नु हो ।’
‘चन्दाका लागि दबाब छैन’
उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले चन्दा संकलनका लागि दबाब दिइएको विषयमा महासंघमा उजुरी नआएको बताए । उनले नयाँ पत्रिकासँग भने, ‘कसैले अस्वाभाविक चन्दाको कुरा उठाउनुभयो, माग्नुभयो भने हामी उहाँहरूसँग कुरा गर्छौँ । उठाउँदै छन् भनेर आतंकित बनाउनु पनि भएन ।’
नयाँ पत्रिका दैनिकबाट साभार
