समाचारबुधबार, पौष २३, २०७१
छुट्टा–छुट्टै सडक दुर्घटनामा २ को मृत्यु, २९ घाइते
बाराको छातापिपरा चौंकमा टेम्पोको ठक्करबाट बेल्वा–७, पर्साका ५५ बर्षीय बृजकिशोर दासको मृत्यु भएको छ ।
जीतपुरबाट बिरगंज जाँदै गरेको ना. १ ह.६७४ नम्बरको टेम्पोले बिपरित दिशाबाट आउँदै गरेको ना.१३ प.७२१६ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा दासको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका दासको उपचारको लागि बिरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।
यता, काठमाडौंबाट दोलखा जाँदै गरेको यात्रुबाहक बस धुलिखेलमा दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ ।
ना ३ ख ११२५ नम्बरको यात्रुबाहक बस सडकमै पल्टिदा दोलखाकी ५८ बर्षीया सावित्री सिवाकोटीको मृत्यु भएको छ भने २९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
श्याम गुप्ता, बारा
