समाचारबुधबार, पौष २३, २०७१
निर्णायक भनिएको बैठक भाँडियो
मधेश केन्द्रित मोर्चासहितका प्रमुख चार दलले निर्णायक भनेको वालुवाटार छलफल बिना निष्कर्ष टुंगिएको छ ।
२३ पुस विहान ९ बजेदेखि बसेको बैठक १२ बजेसम्म पनि कुनै निष्कर्षमा नपुगी सकिएको हो । छलफलमा नयाँ संविधानका अन्तरवस्तुमा दलहरुबीच सहमति हुन नसकेपछि बैठक बिना निष्कर्ष सकिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।
अन्य विवादित विषयमा सहमति नजिक पुगेका दलहरु संघीयतामा तराईका ५ जिल्लालाई पहाडसँग राख्ने कि नराख्ने भन्नेमा विभाजित छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले २१ पुसम्म सहमति कायम नभए संविधानको मस्यौदा तयार पार्ने जिम्मेवारी आफुलाई दिनुपर्ने प्रस्ताव राखेपछि विभाजित बनेको दलहरु पुनः छलफलमा जुटेका थिए ।
२२ पुसमा कांग्रेस र ३० दलीय मोर्चाबीच भएको छलफलले सहमतिका लागि अन्तिम प्रयास गर्ने नेताहरुले बताएका थिए । त्यसैअनुसार २३ पुसमा प्रधानमन्त्री निवास वालुवाटारमा दलहरुबीच छलफल बोलाइएको थियो ।
वालुवाटार छलफलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरु सभाध्यक्ष नेम्वाङलाई भेट्न नयाँ बानेश्वर आइपुगेका छन् । उनीहरुले नेम्वाङसँग संविधानसभा निमावलीले तयार पारेको ८ माघको कार्यतालिकाबारे छलफल गर्दैछन् ।
