समाचारबिहीबार, पौष २४, २०७१
ओलीले भने, ‘मैले माफी ?’
एमाले अध्यक्ष केपी ओलीले आफूले मधेशी मोर्चाका नेताहरुको अपमान नगरेको दाबी गर्दै उनीहरुसँग कहिल्यै माफी नमाग्ने बताएका छन् ।
२३ पुसमा बालुवाटारमा बसेको ४ पक्षीय बैठकमा एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई होच्याएको र अपमानजनक शब्द प्रयोग गरेको भन्दै मधेशी मोर्चाका नेताहरुले ओलीले माफी नमागेसम्म एमालेसँग बैठक नगर्ने बताइरहेको बेला उनले भने कहिल्यै माफी नमाग्ने बताएका हुन् ।
संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनलाई पुनः समितिमा फर्काउने विषयमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भएको तीन दलका नेताहरुको बैठक पछि पत्रकारसँग ओलीले भने, “मैले माफी ?”
मोर्चाले तपाइँले माफी माग्नु पर्छ भनेको छ के गर्नु हुन्छ भन्ने प्रश्नको जवाफमा ओलीले मधेशी मोर्चाका नेताहरुलाई आफूले अपमान नगरेको दाबी गरे। उनले भने, “मैले हैन उहाँहरुले अपमान गर्नु भएको हो।”
“बालुवाटारमा चारपक्षको बैठकमा मैले कुरा राख्दा राख्दै उनीहरु बहिस्कार गर्छौ भनेर उफ्रदै हिंडे, मेरो अपमान गरे। अब मैले माफी माग्नु पर्ने प्रश्न कहाँबाट आयो, ” उनले भने ।
उसो भए तपाइँ माफी माग्नुहुन्न भनेर सोध्दा ओलीले दोहोर्याए, “मैले माफी ?”
यसअघि २४ पुस बिहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा ओलीले आफू जिउँदो छउन्जेल मोर्चासँग माफी नमाग्ने बताएका थिए ।
ओलीले माफी नमागेसम्म एमालेसँग वार्ता नगर्नेः मधेशी मोर्चा
