समाचारशुक्रबार, पौष २५, २०७१
सेमेस्टर प्रणाली स्थगित
त्रिवि अन्तर्गतका उपत्यकाका २२ वटै आंगिक क्याम्पसमा यसै वर्षदेखि लागु हुने भनिएको स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली नहुने भएको छ ।
विद्यार्थी नेताहरुको दबाबका कारण त्रिविले यस वर्ष पनि उपत्यकामा सेमेस्टर प्रणाली लागु नगर्ने भएको हो।
विश्वविद्यालय पदाधिकारी र विद्यार्थी नेताहरुबीच भएको २४ पुसको छलफलमा पदाधिकारीले विद्यार्थी नेताहरुको सहयोगबिना सेमेस्टर प्रणाली लागु गर्न नसक्ने बताउँदै आफ्नै निर्णय उल्टाउने मनस्थितिमा पुगेको नागरिक दैनिकले उल्लेख गरेको छ।
“बिहीबार विद्यार्थी नेताहरुसँग छलफल हुँदा उनीहरुले बिनातयारी लागु गरिने सेमेस्टर प्रणाली प्रभावकारी नहुने सुझाव राखे,”
छलफलमा सहभागी निमित्त रजिस्ट्रार देवराज अधिकारीले भने, “त्रिविको पनि उपत्यकाका सबै आंगिक कलेजमा लागु गर्न सक्ने तयारी पुगेको छैन।”
त्रिविले यस वर्ष वार्षिक प्रणालीबाटै भर्ना खुलाउन शुक्रबार निर्णय गरी अघि बढ्ने उनले जनाए।
छलफलमा सहभागि नेविसंघका प्रवक्ता यूपि लामिछानेले त्रिविले आंगिक कलेजहरुमा पूर्वाधार तयारी नगरी,दक्ष र आधुनिक शिक्षण प्रणालीको पठनपाठन गराउने शिक्षकको ब्यवस्था नगरी सेमेष्टर लागु गर्न नपाउने बताए ।
