थप समाचारशुक्रबार, पौष २५, २०७१
डोटेली भाषाको अध्ययन गर्न भाषाविदहरु कञ्चनपुरमा
सुदूरपश्चिम क्षेत्रमा बोलिने डोटेली भाषाको अध्ययन अनुसन्धानका लागि भाषाविद्को टोली कञ्चनपुर पुगेको छ ।
डोटेली भाषाको विविध पक्षबारे अध्ययन अनुसन्धान गर्न भाषाविद्को टोली परिचालन भएको महाकाली साहित्य सङ्गम महेन्द्रनगरका महासचिव हरिशप्रसाद जोशीले बताए ।
डोटेली भाषा विकास केन्द्र महेन्द्रनगरको पहलमा परिचालन भएको टोलीले यहाँ बोलिने भाषाको वर्ण पहिचान, व्याकरणका प्रयोगका बारेमा अध्ययन अनुसन्धान गर्नेछ ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, डोटी र अछामलगायत नौ जिल्लाका स्थानीय बुद्धिजीवी, भाषाका जानकारलगायतसँग छलफल, अन्तरक्रिया गरिने जोशीले जानकारी दिए ।
टोलीमा नेपाल बहुभाषिक भाषा विकास केन्द्रका भाषाशास्त्री अमृत योञ्जन, त्रिभुवन विश्वविद्यालयका भाषा विभागका प्रतिभा रेग्मी, डोटेली भाषा विकास केन्द्रका कार्यकारी निर्देशक वंशिधर जोशी, डोटेली भाषाका जानकार राजेन्द्रसिंह रावल र राजबहादुर चन्द सहभागी छन् ।
रासस
