थप समाचारआइतबार, पौष २७, २०७१
‘म हुँ शार्ली एब्डो’
-सञ्जीव शर्मा
सम्पादक, वरिष्ठ कार्टूनिष्ट सहित १२ जनाको ज्यान जाने गरी भएको आक्रमणपछि पनि फ्रान्सेली व्यंग्य पत्रिका शार्ली एब्डो नियमित समयमा प्रकाशन हुने भएको छ । पत्रिकाका स्तम्भकार प्याट्रिक पेलुले भनेका छन्, “हामी त्रासमा छौं, दुःखी छौं तर पनि बुधबार पत्रिका प्रकाशन हुन्छ किनभने मूर्खताको जीत हुँदैन ।”
७ जनवरी २०१५ मा पत्रिका प्रकाशन भएकै दिन तीन जना बन्दूकधारी पत्रिकाको कार्यालयमा प्रवेश गरेर ‘अल्लाह हु अकबर’ भन्दै अन्धाधुन्द गोली चलाउँदा ती सबैको ज्यान गएको थियो । ठीक त्यहीबेला पत्रिकाको ट्विटर ह्याण्डलबाट उग्रवादी संगठन आईएसका नेता अबु बक्र अल बगदादीको कार्टून पोष्ट गरिएको थियो ।
कार्टूनको क्याप्सनमा ‘सबैलाई शुभकामना, अल–बगदादी तपाइँलाई पनि’ लेखिएको थियो । जवाफमा बगदादीले ‘विशेष गरी सु–स्वास्थ्यका लागि’ भनिरहेको देखाइएको थियो ।
शार्ली एब्डो माथि भएकोे आक्रमणको संसारभर निन्दा भएको छ । सबैले अभिव्यक्ति स्वतन्त्रताप्रति ऐक्यबद्धता जनाएका छन् । फ्रान्सका ठूला मिडिया कम्पनीहरूले आफ्ना सबै आग्रह बिर्सेर ‘स्वतन्त्रताको सिद्धान्त रक्षा एवम् अभिव्यक्ति र विचारको स्वतन्त्रताका पक्षमा’ भन्दै पत्रिका सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सन् १९६९ मा प्रकाशन शुरू गरेको शार्ली एब्डो शुरूमा ‘हाराकिरी’ नामले प्रकाशित हुन्थ्यो । वामपन्थी झुकाव राख्ने र राष्ट्रपतिदेखि नेता, धर्म र बुद्धिजीवीमाथि तीखो व्यंग्य गर्ने यो पत्रिकामाथि पटकपटक प्रतिबन्ध पनि लाग्यो ।
तिक्ष्ण व्यंग्यको फ्रान्सेली संस्कृतिलाई जीवन्त राख्दै पत्रिका कसैसँग झुकेन । पत्रकारहरू झुकेनन् । सन् १९७० मा तत्कालीन राष्ट्रपति चार्ल्स डि गलको नाइटक्लब दुर्घटनामा मृत्यु हुँदा समेत शार्ली ले उनीमाथि व्यंग्य चित्र प्रस्तुत गरेको थियो ।
प्रत्येक बुधबार प्रकाशन हुने शार्ली को नाम कमिक पत्रिका शार्ली मन्सुल को पात्र शार्ली ब्राउनबाट प्रभावित भई राखिएको थियो । एब्डो को अर्थ भने फ्रान्सेली भाषामा साप्ताहिक हुन्छ ।
सन् २००९ देखि शार्ली एब्डो मा स्टिफेन शार्बोनियर सम्पादक थिए । उनी सहित प्रसिद्ध कार्टूनिष्ट वोलिन्स्की, क्याबु, बर्नार्ड टिग्नस, वर्लहक र अर्थशास्त्री बर्नार्ड म्यारिस लगायत पत्रिकाका कन्ट्रिब्युटर, स्तम्भकार आततायी आक्रमणमा मारिए ।
घटनाका संदिग्ध आक्रमणकारी दुई दाजुभाइ प्रहरी कारबाहीमा शुक्रबार मारिएका छन् भने एक जनाले बिहीबार नै आत्मसमर्पण गरिसकेका छन् ।
राजनीतिक कार्टून, स्ट्रिप्स र सानो सम्पादकीय मात्र छाप्ने १२ पृष्ठको यो पत्रिका फ्रान्स र अन्य युरोपेली मुलुकका साथै अमेरिकामा समेत अभिव्यक्ति स्वतन्त्रताको उदाहरण मानिंदै आएको छ ।
२ नोभेम्बर २०११ को अंकमा प्रकाशित सामग्रीका कारण यसअघि पनि पत्रिकाको कार्यालयमा पेट्रोल बम आक्रमण गरिएको थियो । उक्त अंकमा पत्रिकाको प्रधानसम्पादक पैगम्बर मोहम्मदलाई बनाई पत्रिकाको नाम नै ‘शरिया एब्डो’ राखिएको थियो ।
शार्ब उपनामले प्रख्यात सम्पादक स्टिफेन शार्बोनियरले त्यसबेला भनेका थिए, “आक्रमणकारी इस्लाम नबुझने मूर्ख हुन् र तिनले आफ्नै धर्मलाई धोका दिएका छन् ।”
आक्रमणले कत्ति पनि विचलित नभएको पत्रिकाले सेप्टेम्बर २०१२ मा पनि मोहम्मदप्रति व्यंग्य गर्दै नांगो कार्टून छापेपछि फ्रान्सेली सरकारले करीब २० वटा मुस्लिम देशमा रहेका आफ्ना दूतावास, विद्यालय र अन्य निकायलाई विशेष सुरक्षा दिनुपरेको थियो ।
त्यसबेला फ्रान्सेली विदेशमन्त्रीले ‘अभिव्यक्ति स्वतन्त्रताका नाममा यसरी आगोमा घ्यू थप्ने काम उपयुक्त हो ?’ भन्ने टिप्पणी गरेका थिए भने अमेरिकाले पनि असन्तुष्टि जनाएको थियो ।
सम्पादक शार्बले भने पत्रिकाले प्रत्येक साता सबैमाथि यसरी नै व्यंग्य गर्ने गरेको तर व्यंग्य कुनै धर्माधिकारीमाथि भयो भने चाहिं उक्साएको आरोप लगाइने गरेको भन्दै बचाउ गरेका थिए ।
१२ जनाको ज्यान जाने गरी भएको पछिल्लो आक्रमणपछि ‘म हुँ शार्ली एब्डो’ भन्ने वाक्य अभिव्यक्ति स्वतन्त्रताका लागि सर्वत्र प्रयोग भइरहेको छ । शार्लीप्रति ऐक्यबद्धता, पत्रकारहरुको मृत्युमा शोक, हिंसात्मक क्रियाकालपको विरोध र अभिव्यक्ति स्वतन्त्रताका लागि यो वाक्य ‘आइकन’ बन्दै गएको छ ।
पत्रिकाको एउटा साप्ताहिक बैठकमा सहभागी भएका भारतीय कार्टूनिष्ट विश्वज्योति घोषले बीबीसीसँगको कुराकानीमा भनेका छन्– यो घटना सुनिसकेपछि पनि कार्टूनिष्टको मसीमा आलोचना गर्ने, आवाज उठाउने र मजाक गर्ने जोश अझै बाँकी छ । संसारमा अझैं हजारौं शार्ली एब्डो रहेको बताउँदै घोष भन्छन्, “जसले हामीलाई हँसाउँछन्, सोच्न बाध्य बनाउँछन्, बहस गर्छन् र फेरि सबैमाथि हाँस्न बाध्य बनाउँछन् ।”
