समाचारमंगलबार, आश्विन ३०, २०६९
आजदेखि दशैं शुरु
बडादशैंको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ ।
आज ११:०७ बजे बिहान घटस्थापना, ८ कार्तिक बुधवार विजयादशमीका दिन बिहान १०:३५ बजे देवी विसर्जन र बिहान ११:२९ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैगरी कार्तिक ५ बुधवार फूलपातीका दिन बिहान ०९:११ बजे तुलजाभवानीको यात्रा तथा ०९:५१ बजे थिराशनका लागि साइत र कात्तिक ८ गते बुधवार विजयादशमीका दिन ११:४३ बजे तुलजाभवानीको यात्रा तथा १२:३९ बजे थिराशनका लागि साइत जुरेको छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतिक पहेंलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
बडादशैंको सातौं दिन ५ कार्तिकमा मलुकभर परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दशैंघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन गरी साँँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।
यस चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको नौरूप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, ष्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।
बडादशैंका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालतहरू कोजाग्रत पूर्णिमासम्मका लागि बिदा गरिएका छन् ।
