समाचारमंगलबार, आश्विन ३०, २०६९
सहकार्यले मात्र निकास: प्रधानमन्त्री
पछिल्लो समयमा राष्ट्रपतिले दलहरुसँग चुनावको मिति प्रक्रिया तोकेर थोकमै सहमति गर्न सार्वजनिक अभिव्यक्ति दिएपछि आपत्ति
जनाएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई ३० असोजमा राष्ट्रपतिले आफ्नै निवासमा बोलाएर त्यसबारेमा जानकारी लिएका हुन् ।
३० असोज विहान राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री भट्टराईले दुबैबीच वर्तमान परिस्थितिका बारेमा खुलेर कुरा भएको र सहकार्य गरी निकास दिने सहमति भएको बताए । प्रधानमन्त्रीले भने, “सहमति कायम गरी राष्ट्र प्रमुख र सरकार प्रमुखबीचको सहकार्यले मात्र मुलुकलाई निकास दिन सकिनेमा सहमति भएको छ ।”
बिहान ९ बजेदेखि करिब साढे दुई घण्टा भएको भेटवार्तामा राजनीतिक निकासका विषयमा तथा पछिल्ला अभिव्यक्तिहरुबारे खुलेरै छलफल भएको थियो । छलफलमा राजनीतिक गतिरोध अन्त्यका लागि दुवैको भूमिका उत्तिकै हुने भन्दै दुवैले आ–आफ्नो भूमिका निर्वाह गर्ने विषयमा सहमति भएको भट्टराईले बताए । उनले थपे, “अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्न दुवैको सकारात्मक भूमिका हुने भएकाले मिलेर अगाडि बढ्ने बारेमा बृहत छलफल भयो ।”
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराई दुबैले संविधान सभाको पुनःस्थापना निकासको उत्तम विकल्प हुने वताइरहेका बेला २९ असोजमा राष्ट्रपतिले निर्वाचनमा जानुको विकल्प नभएको वताएका थिए ।
यसैबीच असोज मसान्तभित्र सहमति जुटाउने प्रतिवद्धता गरेको राजनीतिक दलहरुले सहमति जुटाउन नसकेपछि राष्ट्रपतिले ३ कार्तिकमा फेरि सबै दलका शीर्ष नेताहरुलाई शितल निवासमा बोलाएका छन् ।
