समाचारबुधबार, पौष ३०, २०७१
दमकमा आराम गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह

२७ बैशाख २०७१ मा दमक १ को दुर्गापाञ्चायन मन्दिरमा पूर्बराजा ज्ञानेन्द्र पुग्दा उनका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका थिए । फाइल तस्वीर: गोपाल गडतौला
करिब एक महिनादेखि जाडो छल्न राजधानी छोडेका पूर्व राजा ज्ञानेन्द्र शाह अहिले झापा, दमकस्थित चियाबगानमा आराम गरिरहेका छन् ।
राजधानीमा संविधान निर्माणको रस्सकाकस्सी चलिरहेका बेला चितवन, बारा हुँदै दमक आइपुगेका शाह सात दिनदेखि दमकको हिमालय महालक्ष्मी चियाबगानमा छन् ।
उनी ३० पुस बिहान साढे आठ बजेतिर मर्निङ वाक गर्दै बगानदेखि एक किलोमिटर उत्तर राजमार्गसम्म निस्किएका थिए ।
राजा महेन्द्रले आफ्ना भाई हिमालयको नाममा २०१८ सालमा चाँदीको कर्नीले चियाको बोट रोपी स्थापना गरेको हिमालय महालक्ष्मी चियाबगानभित्र रहेको गृष्मकालिन दरबारमा उनी प्रत्येक जाडोमा आउने गर्छन् ।
अहिले उनी १५ फिट अग्लो पर्खालभित्र रहेको दरबारमा पत्नीकोमल र केही सहयोगीका साथमा छन् । ज्ञानेन्द्र शाह कम्तिमा दुईसाता दमकमा बस्ने उनका सचिब सागर तिमिल्सिनाले बताए ।
उनी त्यही दरबारको पश्चिम पर्खाल बाहिर रहेको अतिथीगृहमा बस्ने बगानका महाप्रबन्धक शीवप्रसाद आचार्यकी दिबंगत श्रीमती शोभाको १३ औं दिनको क्रियाकर्ममा भने सहभागी भएनन् । उनका सहयोगीले भने, “उहाँहरु यस्तो क्रियाकर्ममा जाने चलन छैन ।”
आफू अधिराजकुमार छँदा पनि ज्ञानेन्द्र शाह जाडोमा बर्षेनी पत्नी र छोराछोरीका साथ हेलिकप्टरमा दमक आँउथें । उतिबेला चियाबगानका मजदुरलाई कपडा र तीनका छोछोरीलाई चकलेट बाँड्थे । सात सय विगाहामा फैलिएको चिया बगानमा हेलिप्याड समेत छ ।
फूलबारी र प्रशस्तै लिचीका बोट रहेको दरबार परिसर भित्र दक्षिणी कुनामा सुरक्षा पोष्ट र उत्तरी भागमा फलामे जाली भएको कुकुर घर छ भने, हेलिप्याडको नजिकै बँदेलको खोर छ ।
चारबर्ष अघि तात्कालीन रक्षामन्त्री बिद्या भण्डारी झापाको लखनपुरमा आदिबासी रंगशाला शिलन्यास गर्न आँउदा बगानभित्रकै हेलिप्याडमा अवतरण भएकी थिइन ।
गोपाल गडतौला, झापा
