समाचारबिहीबार, माघ १, २०७१
एमाओवादीले संविधानसभा भित्र र बाहिर संघर्ष गर्ने
एमाओवादीले पहिचानसहितको संघीयताका लागि दबाब दिन संविधानसभा भित्र र बाहिर संघर्ष गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय कोटेश्वरमा १ माघमा बसेको एमाओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठकले संविधानसभा भित्र र बाहिर संघर्षका लागि तयारी गर्ने निर्णय गरेको हो ।
सत्ताधारी दल बहुमतीय प्रक्रियाबाट अगाडि बढे त्यसका लागि संविधानसभा भित्र र बाहिर सङ्घर्ष गर्नका लागि पनि तयार हुने निर्णय भएको एमाओवादी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
एमाओवादीले संविधानसभामा बहुमतीय प्रक्रियाका आधारमा अगाडि नबढ्न पनि कांग्रेस–एमालेलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको सापकोटाले बताए । संविधानसभा नियमित संसद नभएकाले बहुमत र अल्पमतका आधारमा अगाडि बढ्न नहुने एमाओवादीको निष्कर्ष छ ।
१२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताको भावनाअनुसार संविधान लेखन प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउन कांग्रेस–एमालेलाई आग्रह गर्ने एमाओवादीले निर्णय गरेको छ ।
रासस
