समाचारबिहीबार, माघ १, २०७१
८ माघ टार्ने एमाअाेवादीकाे तयारी
आफ्नो अजेण्डा नयाँ संविधानमा स्थापित गराउन भन्दै लगातार मोर्चाबन्दी गरिरहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले १ माघमा आकस्मिक बैठक बोलाएर दुई तिहाईबाट आउने संविधानको सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ ।
उपत्यकामा उपलब्ध पोलिटब्यूरो र स्थायी कमिटी सदस्यहरुलाई केन्द्रिय कार्यालय कोटेश्वरमा बोलाएर एमाओवादीले २ माघमा बस्ने संविधानसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाएको छ ।
‘पहिचानसहितको संघीयता’का लागि भन्दै आफैंबाट फुटेर गएको नेकपा–माओवादी, संविधानसभामा प्रतिनीधित्व गर्ने १९ दल, संविधानसभाबाहिरका ११ दल र जनजाति आन्दोलन गरिरहेका पद्मरत्न तुलाधरसँग मोर्चा बनाएर आम हड्तालसहितको आन्दोलन गर्दै आएको एमाओवादीले अव ८ माघ टार्ने तयारी थालेको हो ।
संविधानका अन्तरवस्तुमा दलहरुबीच सहमति नजुेटकाले ८ माघमा प्रकृयाबाट पनि संविधान आउन नदिने गरी संविधानसभामा प्रस्तुत हुन दाहालले निर्देशन दिएको एमाओवादीका एक नेताले बताए । उनका अनुसार २ माघमा बस्ने संविधानसभा बैठकमा धेरै भन्दा धेरै नेताले बोल्न नाम टिपाउने तयारी भएको छ ।
संविधानसभामा बोल्ने सभासदहरुले अन्तरवस्तु भन्दा पनि सैद्धान्तिक विषयमा बोल्ने र समय कटाउने एमाओवादीको तयारी छ । कांग्रेस–एमालेले दलीय प्रतिनीधित्वका हिसाबले संविधानसभा बैठकमा कुरा राखेर प्रकृया अघि बढाउन खोजे त्यहींबाट प्रतिरोध थाल्ने निर्णय एमाओवादीले गरेको छ ।
एमाओवादी स्थायी कमिटी सदस्य लोकेन्द्र विष्टमगर भन्छन्, ‘‘दुई तिहाईबाट पेलेर नियमावली संशोधन गरी संविधान ल्याउने तयारी कांग्रेस र एमालेको छ । यसलाई असफल पार्न सदनमा शान्तिपूर्ण रुपमा नाराबाजी गर्ने, रोष्टम घेराऊ गर्ने र सडक आन्दोलनलाई चर्काउने निर्णय भएको छ ।’’
८ माघमा संविधान ल्याउन नसकेकाले जनतासँग माफी माग्ने र ६ महीनासम्ममा पूर्ण संविधान ल्याउनेगरी कार्यतालिका परिवर्तन गर्नुपर्ने विष्टमगर बताउँछन् । उनी भन्छन्, ‘‘८ माघमा टाउँको काटे पनि संविधान आउँदैन, यो राजनीतिक प्रतिवद्धता पूरा नभएकाले जनतासँग माफी माग्नुको विकल्प छैन ।’’
एमाअाेवादीका नेताहरुले यसअघि देखि नै ८ माघ संवैधानिक नभई राजनीतिक प्रतिवद्धता भएकाले समय सार्नुपर्ने प्रस्ताव राख्दै अाएका छन् ।
