समाचारबिहीबार, माघ १, २०७१
कांग्रेसले पनि गर्याे प्रकृयामा जाने निर्णय
सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसले पनि नियमावली अनुसार प्रकृयामा जाने निर्णय गरेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा एमालेसँगकाे नौ बुँदे संयुक्त प्रस्तावलाई लचिलो भएर संविधानसभामा पेस गरी त्यहाँबाट पारित गरेर मस्यौदा समितिमा लैजाने निर्णय गरेको हो ।
मुख्य सचेतक चीनकाजी श्रेष्ठले संसदीय दलले संविधानसभामा प्रक्रियामार्फत संविधान निर्माण अघि बढाइने निर्णय भएको बताए ।
अन्तरिम संविधान र संविधानसभा नियमावली अनुरुप प्रक्रियालाई अघि बढाउने कामसँगै दलसँगको छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको छ । श्रेष्ठले भने, “प्रक्रियामार्फत गएर भए पनि माघ ८ भित्र नेपाली जनतालाई आश्वासन तुल्याउने कुनै न कुनै दस्तावेज ल्याउनुपर्छ, यसले गर्दा संविधान बन्छ भन्ने विश्वास जनतामा जान्छ, सकेसम्म पूर्ण संविधान नभए पनि जनतालाई आश्वस्त दिने किसिमको एउटा विश्वसनीय दस्तावेज जनतामाझ जानुपर्छ भन्ने धेरैको विचार आएको छ ।”
यसैबीच, २ माघमा बस्ने संविधानसभा बैठकमा आफू कसरी प्रस्तुत हुने भन्ने तयारी गरेको संसदीय दलको बैठकले आफ्ना सबै सभासद्लाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।
यसअघि, एमालेले पनि १ माघकाे स्थायी कमिटी बैठकबाट प्रकृयामा जाने निर्णय गरिसकेकाे छ ।
