समाचारशनिबार, माघ ३, २०७१
स्व अधिकारीप्रति श्रद्धाञ्जलि
माओवादीले २०५८ सालमा लमजुङमा हत्या गरेका शिक्षक मुक्तिनाथ अधिकारीको १३ औँ वार्षिक पूण्यतिथिमा श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ ।
मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान तथा एम्नेस्टी इन्टरनेसनलले संयुक्तरुपमा ३ माघमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अधिकारीको परिवारलाई चाँडो न्याय दिलाउनुपर्नेमा विभिन्न वक्ताले सुझाएका थिए ।
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले द्वन्द्वकालमा अधिकारीको निर्मम तरिकाले हत्या गरिएको भए पनि अहिलेसम्म सरकारले उनको परिवारलाई न्याय दिलाउन नसकेको बताए ।
उनले मुलुकमा लोकतान्त्रिक पद्धति स्थापना गर्न आफ्नो पार्टीले कसैसँग पनि सम्झौता नगर्ने दाबी गरे।
नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले तत्कालीन समयमा शिक्षक अधिकारीको हत्या गम्भीर प्रकृतिको मानवअधिकार उल्लङ्घनको घटना हो भन्दै छिट्टै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी यस किसिमको घटनाका पीडितलाई न्याय दिलाउन खाँचो रहेको औंल्याए ।
मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पीडित पक्ष न्यायको पर्खाइमा रहेको र त्यो पर्खाइको अब चाँडो अन्त्य गर्नुपर्नेमा जोड दिँदै पीडितको पक्षमा न्यायको अनुभूति हुने गरी आयोगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
श्रद्धाञ्जलि सभामा नेपाली कांग्रेस लमजुङका सभापति कृष्ण कोइराला, अधिकारकर्मी सुशील प्याकुरेल, मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानका उपाध्यक्ष कृष्णविलास अधिकारी, एम्नेस्टी इन्टरनेसनलका अध्यक्ष सूर्यबहादुर अधिकारीले पीडितको आवाजलाई सुनुवाइ गर्नुपर्नेमा जोड दिँदै सो घटनालाई मानवअधिकार आयोगले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिएका थिए ।
रासस
