समाचारशनिबार, माघ ३, २०७१

संविधान निर्माणको ढिलाइबारे राष्ट्रपतिको चासो

हिमालखबर

Shital_Niwasराष्ट्रपति रामवरण यादवले संविधान निर्माणका क्रममा भइरहेका ढिलाइ र विवादका विषयमा चासो व्यक्त गर्दै प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालासहित नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतासँगको छलफलका क्रममा राष्ट्रपति यादवले ‘संविधान निर्माणमा किन ढिलाइ भएको हो ? ८ माघभित्र संविधान जारी गर्ने प्रतिबद्धताबाट दलहरू पछि हटेको हो ?’ भनी जिज्ञासा राखेका थिए ।

भेटमा सहभागी एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिले सबै पक्षलाई सहमत हुने प्रक्रियाका आधारमा संविधान निर्माण गरी जनतामा छाएको निराशालाई अन्त्य गर्न आग्रह गरेको सञ्चारकर्मीलाई जानकारी दिए ।

नेता खनालले सहमतिका लागि आफूहरूको पहल जारी रहेको र सहमति नभएमा विधि र पद्धतिबाट संविधान ल्याउनुपर्ने धारणा राखेको पनि बताए ।

कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सम्भावना न्यून भएकाले अन्तरिम संविधानमा ‘अन्तरिम’ हटाएर संविधान जारी गर्न सुझाएको बताए ।

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सकेसम्म सहमति र नभएमा प्रक्रियाबाट संविधान ल्याउनुपर्ने आफूहरुको धारणाबारे राष्ट्रपति यादवलाई अवगत गराएको जानकारी गराएका थिए ।

कांग्रेस र एमालेसँगको भेटवार्ता सकिएपछि एमाओवादी र मेधशवादी दलका नेतासँग राष्ट्रपतिको भेटवार्ता हुँदै छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>