समाचारआइतबार, माघ ४, २०७१
शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकियो
संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्ष नेताहरुबीचकाे बैठक बिना निष्कर्ष सकिएको छ ।
संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा रहेका मतभिन्नताहरुमा सहमति जुटाउन दुईपक्षीय बैठक बसेपछि पुनः चार दलका बहुपक्षीय बैठक आयोजना गरिने भएको छ ।
बैठकपछि पत्रकारलाई नौ बुँदे प्रस्तावलाई परिमार्जन गर्न आफूहरू तयार रहेको जानकारी दिँदै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय हितका विषयलाई सर्वोपरि राखेर अन्य विषयमा लचिलो भएर सहमतिको प्रयास गरिने बताए ।
खनालले भने, “संघीय संरचनाका विषयमा सहमतिभन्दा निकै टाढा छाँै तर अन्य विषयमा सहमति नजिक पुगेका छाैं ।”
एमालेका नेता भीम रावलले बैठकमा सहमतिका लागि राम्राराम्रा कुरा प्रस्तुत भएका र त्यसलाई ठोस रुप दिने प्रयास भइरहेको उल्लेख गर्दै अपराह्न हुने बैठकमा अहिलेसम्म प्रस्तुत भएका विषयले कस्तो आकार लिन्छ त्यसका आधारमा निर्णय गरिने बताए ।
उनले सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा प्रक्रिया के हुने भन्नेबारेमा निष्कर्ष निकालिने पनि उल्लेख गरे ।
