व्यक्तित्वमंगलबार, आश्विन ३०, २०६९
स्वदेशमा पौरख
समृद्धि सबैको लक्ष्य हुन्छ, तर यसलाई प्राप्त गर्न मानिसहरू फरक–फरक सोच र प्रेरणाबाट अघि बढ्छन् । जस्तो, दैनिक १५०० नेपाली युवा रोजगारीका लागि विदेश गइरहेका बेला ब्रिटिस–गोर्खा मेजर नगेन्द्रबहादुर पुनका छोरा विक्रम अमेरिकाको माइकल म्यान कम्पनीको सिनियर प्रोडक्सन म्यानेजर पद छाडेर काठमाडौँमा च्याउ खेती थालेका छन् ।
गैह्रीधारामा फ्रेस मसरुम प्रालि खोलेका विक्रमले भाडाको साढे दुई रोपनी जग्गामा कन्ये, गोब्रे लगायतका च्याउहरू लगाए पनि उनको रुचि चाहिँ सिताके जातको च्याउमा छ । चीन, जापान र कोरियामा बढी लोकप्रिय सिताके च्याउ नेपालमा प्रति किलो रु.२५०० सम्ममा बिक्री हुन्छ । राजधानीका तारे होटलहरूलाई मासिक बढीमा ४०० किलो च्याउ बेचिरहेका विक्रम अब उत्पादन तेब्बर बनाउने प्रयासमा छन् । विक्रम भन्छन्, “अमेरिकाको फँगी पर्फेक्ट कम्पनीबाट उच्चकोटिको बीउ मगाएर सिताके च्याउ उत्पादन गरिरहेको छु, जसलाई नेपाल सरकारले गुणस्तर प्रमाणपत्र दिइसकेको छ ।”
नेपालमा च्याउ खेती गर्ने निर्णय गरेपछि विक्रमले अमेरिकामै यससम्बन्धी एक वर्ष अनुसन्धान गरेका थिए । त्यसपछि काठमाडौँ आएर गल्फुटारमा ३६५ दिनकै तापक्रम मापन गरे । नेपालमा च्याउ हुर्कन केही बढी समय लागे पनि उच्च गुणस्तरको हुने उनको अध्ययनले देखाएको छ । तर, लोडसेडिङले गर्दा च्याउलाई तापक्रम मिलाउन निकै कठिन हुन थालेको उनी बताउँछन् । “बिजुली आउँदा राति १, २ बजे पनि उठेर काम गर्छु”, विक्रम भन्छन्, “बालुवाटारमा तीनतले घर भाडामा लिएर च्याउ खेती गर्दा बिजुलीकै कारण ६ महिनामा रु.१० लाख घाटा सहनु प¥यो ।”
विक्रमको व्यवसाय खस्केको भने छैन, बरु बढेको छ । च्याउ र बीउको माग बढेकाले उनी काठमाडौँका विभिन्न भाग र पोखरामा समेत फर्म विस्तार गर्ने योजनामा छन् । यसका लागि उनले केही ब्याङ्कहरूलाई गुहारेका पनि छन् । ब्याङ्कबाट चाहे जति ऋण लगानी आएन भने २० प्रतिशतसम्म शेयर बिक्री गर्ने सोचमा छन्, विक्रम । म्याग्दीको चिमखोलामा पुख्र्यौली घर भएका उनी च्याउ खेतीमा रु.१ करोड निजी लगानी गरेर सहयोगीहरूसँग दैनिक १४ घण्टा काममा खटिरहेका छन् । “यसमा मजा पनि छ, किनभने म यो दुःख नेपालमै गरिरहेको छु”, उनी सगर्व भन्छन्, “मासिक रु.६ लाखभन्दा माथि कारोबार भयो भने मेरो वित्तीय स्थिति पनि अमेरिकाको सरह हुन्छ ।”
तर, बिजुली र पानीको अभाव उनलाई सबभन्दा दिक्क लगाउने चिज भएका छन् । खिन्न पार्ने तेस्रो कुरा सरकारी निकायहरूको व्यवहार हो । सन्फ्रान्सिस्को स्टेट युनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक विक्रम भन्छन्, “नेपालमै काम गर्छु भन्नेलाई सरकारी हाकिमहरूले उत्साहित पार्नु पर्नेमा बरु विदेशै जाउ भनेजस्तो व्यवहार गर्छन् ।”
–सन्त गाहा मगर

