समाचारआइतबार, माघ ४, २०७१
सिधै लेनदेनमा छलफल भएपछि दलहरु सहमति नजिक
दलहरूबीच सिधै लेनदेनको विषयमा छलफल भएपछि ५ माघको बैठकमा सहमति जुट्ने संभावना बढेको छ । संविधानका विवादित अन्तरवस्तुको विषयमा ४ माघमा द्विपक्षीय, त्रिपक्षीय वार्तामा लेनदेनको विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
विहान ८ बजेदेखि शुरु भएको छलफल राति पनि जारी रहने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले जानकारी दिएका छन् । उनले हिमालखबरसँग भने, ‘यसअघि घुमाउरो भाषा प्रयोग हुने गरेकोमा नेताहरू सिधै विवादित मुद्दामा प्रवेश गर्नुभयो ।’ वार्ता सफल हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।
पछिल्लो समय एक अर्काबीच घोचपेचमा उत्रेका एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच ५ माघ विहान ८ बजे छलफल हुने र त्यसको एक घण्टापछि सबै शीर्ष नेताहरु बैठकमा बस्ने भएका छन् ।
आजको बैठकमा प्रायः सबै मधेशवादी केन्द्रित दलका नेताहरु सहभागी थिए । एमाले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर प्रमुख दलहरुको बैठकमा मधेशी मोर्चाका सबै नेताहरु जाने गरेका थिएनन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले वार्ता सकारात्मक दिशातर्फ उन्मूख भएको बताए । के के विषयमा सहमति बन्यो भन्ने कुरा भने उनले खुलाउन चाहेनन् ।
कडा भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना भएपछि नेम्वाङकै पहलमा छलफल सघन रुपमा अघि बढेको थियो । वार्ता संविधानसभा भवनका विभिन्न कक्षहरुमा भएको थियो ।
