समाचारसोमबार, माघ ५, २०७१
सहमतिका लागि दलहरुबीच तीब्र छलफल
विवादित विषयमा सहमतिका लागि प्रमुख दलका शीर्ष नेताबीच छलफल चलिरहेको छ । निर्णायक सहमतिका लागि संविधानसभा भवन नयाँ बानेश्वरमा ५ माघ बिहानदेखि नै शीर्ष नेताहरुबीच छलफल चलिरहेको हो ।
संविधानका अन्तरवस्तुमा देखिएको विवादलाई वार्ता र छलफलका आधारमा सहमतिमा पुग्न नेताहरुले केही दिनदेखि प्रयास गर्दै आएका छन् । पछिल्लो छलफलहरु सहमति नजिक पुगेको नेताहरुको भनाइ छ ।
सङ्घीयता, शासकीयस्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा दलहरुबीच मतभेद हुँदै आएको छ । संविधान लेखनको विषयलाई अघि बढाउने क्रममा देखिएको सङ्घीयतासम्बन्धी जटिलतालाई पनि फुकाउन अब चाँडै नै सक्षम हुने शीर्ष नेताहरुले प्रतिक्रिया दिएका छन् ।
बैठकमा सहमतिका लागि मार्गको पहिचान गरेर त्यसलाई टेकेर अघि बढने सहमति भएको वार्तामा रहेका अर्थमन्त्री रामशरण महतले जानकारी दिए । संविधानसभाको बैठक अघि दलहरुले सहमतिको लागि अघि बढने स्पष्ट बाटो तय गर्ने उनको भनाइ छ ।
शीर्ष नेताले आन्तरिक, दुई पक्षीय तथा सामूहिक वार्तालाई तीब्रता दिएका छन् । एमाओवादी र मधेशकेन्द्रित दल तथा नेपाली कांग्रेस र नेकपा एमालेबीच पनि छलफल चलिरहेको छ ।
रासस
