समाचारसोमबार, माघ ५, २०७१
सभासद्हरूकाे नाराबाजी सभाध्यक्षले राेकिदिए
शीर्ष नेताहरुले सहमतिको नाममा संविधानसभालाई बन्धक बनाएको भन्दै सभासदहरुले नाराबाजीको तयारी थालेपछि सभाध्यक्ष सुवास नेम्वाङले राेकेका छन् ।
सभाध्यक्ष नेम्वाङले दलहरुबीच सहमति नभएपनि प्रकृया अघि बढाउने अाश्वासन दिएर नाराबाजी हुनबाट राकेका हुन् ।
यसअघि, हातहातमा नारा लेखेर बसिरहेका सभासदहरुले संविधासभा तत्काल शुरु नगरे नाराबाजी थाल्ने चेतावनी दिएका थिए । सभासद् विशाल भट्टराईले भने, ‘‘दिउँसो १ बजे बोलाइएको बैठक अझै शुरु नभएकाले नाराबाजीको तयारी गरेका थियाैं, तर सभाध्यक्षकाे अनुराेध पछि नाराबाजी राकेका छाैं ।’’
नेताहरुले सहमति गर्ने भनेर दिउँसोको बैठक साँझ ५ बजे सारिएपनि अझै शुरु हुन सकेको छैन । सभाध्यक्ष सुवास नेम्वाङ संविधानसभा हलभित्रै शीर्ष नेताहरुको निर्णय कुरेर बसिरहेका छन् ।
जनतासँग ८ माघमा संविधान ल्याउने भनेर गरिएको प्रतिवद्धता शीर्ष नेताहरु तोड्न लागेकाले नाराबाजीको तयारी गरिएको भट्टराईले बताए । संविधानसभालाई बन्धक बनाउन नपाइने भन्दै सभासदहरुले प्लेकार्ड तयार पारिसकेका छन् ।
संविधानसभामा प्रतिनीधित्व गर्ने प्राय सवै दलका ७० प्रतिशत बढी सभासद संविधानसभा भवनमा शीर्ष नेताहरु कुरेर बसिरहेका छन् ।
