समाचारबिहीबार, कार्तिक २, २०६९
तिहारसम्म सहमति हुने दाहालको दाबी
बेल्जियम भ्रमणबाट १ कार्तिकमा स्वदेश फर्केका दाहालले संविधानका विवादित विषयलाई थाती राखेर भए पनि संविधान जारी गरी नयाँ निर्वाचनमा जानुपर्ने दोहोर्याए । उनले भने, “यसमा काँग्रेस र एमाले पनि सहमत हुन्छन् ।”
जसरी भए पनि तिहारसम्म सहमति हुने भन्दै उनले थपे, “विवादित विषयहरु अनुसूचिमा राखेर भए पनि मिलेका विषय समेटेर संविधान जारी गर्नु नै सबैभन्दा राम्रो विकल्प हो ।” संविधान सभाको पुनःस्थापना गरी संविधान जारी गर्नुपर्नेमा दाहालको जोड थियो ।
“संविधान सभाको पुनःस्थापनाबाटै संविधान घोषणा हुन्छ,” उनले प्रष्ट पारे, “विवादित विषयलाई लिएर जनतामा जान्छौं ।”
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले राजनीतिक सहमतिका लागि दलहरूसँग तत्कालै छलफल शुरु गर्ने बताए । “सहमतिका लागि आजैबाट कुरा हुन्छ,” उनले भने, “तिहारसम्ममा नयाँ सहमति गरेर मुलुकलाई निकास दिनैपर्छ ।”
उनले राष्ट्रपति कानून बाहिर नजाने भन्दै राष्ट्रपतिले कुनै कदम नचाल्ने बताए । उनले थपे, “राष्ट्रपतिले म कांग्रेस होइन भनेर मलाई विश्वास दिलाउनुभएको छ, दलहरुको सहमति बिना त्यस्तो केही गर्नुहुन्न ।” ।
अध्यक्ष दाहालले बेल्जियमको चार दिने भ्रमणका क्रममा त्यहाँका नेपाली समुदाय, कुटनीतिक प्रतिनिधि एवम् बुद्धिजिवीसँग महत्वपूर्ण भेटघाट र कुराकानी भएकाले भ्रमण निकै फलदायी भएको बताएका थिए ।
