समाचारमंगलबार, माघ ६, २०७१
पत्रकारमाथि कुटपिट र दुर्व्यवहार, सवारी साधनमा तोडफोड

६ माघमा बिजुली बजारमा समाचारमा संकलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार गर्ने बन्दकर्तामध्येका एक ।
बन्दको आह्वान गरेको ३० दलीय मोर्चाका कार्यकर्ताहरुले काठमाडौंमा पत्रकारमाथि आक्रमण गर्दै सवारी साधन तोडफोड गरेका छन् ।
पत्रकार, अस्पताल लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध आवतजावत गर्न दिने भन्दै वन्दको आह्वान गरेका मोर्चाका कार्यकर्ताहरुले हिमालकी फोटो पत्रकार देवकी बिष्टमाथि काठमाडौंको विजुली बजारमा दुर्व्यवहार गर्नुका साथै उनी चढेको स्कुटर तोडफोड गरेका छन् ।
पत्रकारको ज्याकेट लगाएर, परिचयपत्र समेत झुण्डाएर रिपोर्टिङका लागि बानेश्वर नजिक बिजुली बजार पुगेकी विष्टमाथि ‘पत्रकारहरुले पनि गाडी चढ्न पाइँदैन’ भन्दै स्कुटरमा लाठी र लात्तीले प्रहार गरेका छन् भने उनको घाँटीमा झुण्ड्याएको परिचयपत्र समेत थुतेर च्यातिदिएका छन् ।
“अराजक त्यो हुलले म माथि अपशब्द बोल्दै लात्ती प्रहार गर्यो” विष्टले भनिन् ।
त्यसैगरी राससका संवाददाता भिष्मराज ओझाको रेकर्डर बन्दकर्ताले खोसेर लगेका छन् । नेपाल पाटी डटकमका फोटो पत्रकार अमुल थापामाथि कुटपिट भएको छ भने एपीका पत्रकार उपेन्द्रमान सिंहमाथि ढुंगा प्रहारका साथै उनको क्यामरा तोडफोड गरेका छन् ।
नयाँ पत्रिकाका ज्ञानेन्द्र कार्की र पहिलो पोष्टका अंगद ढकालमाथि पनि अभद्र व्यवहार भएको छ ।
कान्तिपुर लुटियो
विहान ८ बजेतिर बन्दकर्ताहरुले राजधानीको बबरमहल पुल नजिकै कान्तिपुर पब्लिकेसन्सको गाडीबाट कान्तिपुर दैनिक र काठमाडौं पोष्ट लुटेका छन् ।
बन्दकर्ताहरुले ७२०२२३ नम्बरको निलो नम्बर प्लेट भएको कुटनीतिक नियोगको गाडीमा समेत तोडफोड गरेका छन् ।
