समाचारमंगलबार, माघ ६, २०७१
धनकुटामा बन्दको प्रतिकार, झडपमा तीन घाइते
धनकुटामा बजार खुलाउँदै हिँडेका व्यवसायी र बन्दकर्ताबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

व्यवसायीलाई बन्दकर्ताले कुटेपछि धनकुटा बजारमा निक्लिएका आक्रोशित स्थानीयहरु । तस्वीर: सन्तोष रुचाल
शान्ति जुलुससहित पसल खुलाउँदै हिँडेका व्यवसायी र बन्दकर्ताबीच धनकुटाको मदनचोक र चुवाको बोट नजिक दुई ठाउँमा झडप भएको थियो ।
बन्दकर्ताको आक्रमणबाट धनकुटा–७ स्थित दियालो गेष्टहाउसका सोवित श्रेष्ठ, सुनाखरी फोटो स्टुडियोका सरोज श्रेष्ठ र मदनचोकस्थित आठराई पत्रिका पसलका तुलसी बाराकोटी घाईते भएका हुन् ।
घाईते मध्ये श्रेष्ठद्धयको टाउको र शरिरका अन्य भागमा चोट लागेको छ भने बाराकोटीको दाहिने हातको औला फुटेको छ ।
उनीहरुको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बन्दकर्ताको आक्रमणबाट घाइते भएका सोवित श्रेष्ठ, सरोज श्रेष्ठ र तुलसी बाराकोटी अस्पतालमा उपचार गराउँदै ।
घटनापश्चात निस्केको धनकुटा बजारबासीको जुलुसले सम्पूर्ण बजार पसल खोल्न आग्रह गर्दै बन्द विरोधी नारा लगाउँदै बजार परिक्रमा गरेको छ ।
यसैबीच बजार बन्द गर्दै हिडेको आरोपमा प्रहरीले धनकुटा बजारबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एमाओवादीका जिल्ला सदस्य थर्कदीप तिगेला, संघीय लिम्बुवान पार्टी नेपालका एकोन लिम्बु, जितबहादुर लिम्बु र देबी लिम्बु रहेको प्रहरीले बताएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
बजारबासी प्रतिकारमा उत्रिएपछि बन्दकर्ताहरु तितर बितर भएका छन् । धनकुटा बजारमा पुनः बन्दकर्ता र प्रतिकारमा उत्रिएका बजारबासी बीच झडप हुने स्थिति सृजना भएपछि व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सन्तोष रुचाल, धनकुटा
