समाचारमंगलबार, माघ ६, २०७१
एमाओवादी मोर्चासँग वार्ता हुँदैनः खनाल
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले एमाओवादी मोर्चासँग वार्तामा नबस्ने बताएका छन् ।
संविधानसभा हलबाट निस्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै खनालले मोर्चाले रोष्टम घेरेर नारा लगाइरहेकाले अहिले वार्ता नहुने बताए । उनले भने, ‘‘हामीसँग विकल्प छ, अहिले भन्न मिल्दैन । समय आएपछि बाहिर ल्याउँछौं ।’’
संविधानसभा भवनभित्रै हातपात र तोडफोड गर्ने मोर्चाका सभासद्हरु नाराबाजीमा झरेको भन्दै खनालले भने, ‘‘नारा लगाउन पाइन्छ, लगाउन दिनुहोस् ।’’ खनालले ८ माघमा संविधान नआएपनि त्यसैको पेरीफेरीमा संविधान आउने बताए ।
एमाओवादी जनताको विश्वाश गुमाउँदै
एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले अझै आन्दोलन भनिरहे अर्काे चुनावमा झनै सानो पार्टी हुने बताए ।
उनले भने, ‘‘म प्रधानमन्त्री हुँदा आमहड्ताल गर्दा अहिलेको अवस्थामा आएको छ, अव अर्काे निर्वाचनमा झनै संख्या घटेर आउँछ ।’’ नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहमतिमा आउन नमाने बताए ।
प्रक्रिया र सम्वाद सँगसँगै
कांग्रेसका नेता नरहरी आचार्यले सम्वाद र प्रक्रिया दुवैलाई सँगसँगै अघि बढाउने बताए । उनले एमाओवादी मोर्चासँग पनि सम्वादमा आउनुको विकल्प नरहेको बताए ।
उनले भने, ‘‘हिजोभन्दा मोर्चाको प्रस्तुतिमा आज सुधार भएको छ, चाँडै छलफलमा बस्ने मनसाय देखिन्छ ।’’
नियम मिचियाे
एमाअाेवादीका नेता बाबुराम भट्टराईले सत्तापक्षका नेताहरुले नियम मिचेर अघि बढ्न खाेजेकाले अान्दाेलनमा उत्रिनुपरेकाे बताए । उनले भने, “हामी सहमतिबाटै ८ माघमा संविधान ल्याउने पक्षमा छाैं ।”
