समाचारमंगलबार, माघ ६, २०७१
सप्तरीः एमाले पार्टी कार्यालयमा आगजनी
सप्तरीको राजविराजस्थित नेकपा एमालेको जिल्ला कार्यालयमा आगजनी भएको छ ।

आगलागीपछि कार्यालयबाहिर निकालिएका फर्निचरहरु । श्रवणकुमार देव
करिब ७ जनाको समूहमा आएका युवाले राजविराजको मदननगरस्थित एमाले जिल्ला पार्टी कार्यालयमा आगो लगाएका हुन् ।
झ्यालबाट मट्टी तेल छर्केर आगो लगाएको तर उनीहरु को थिए भन्ने खुल्न सकेको छैन । आगोले कार्यालयभित्रको दराज, दराजभित्रका सम्पूर्ण कागजात र अन्य फर्निचरहरु समेत जलेर नष्ट भएको एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले बताए ।
आगो लागेलगत्तै राजविराज नगरपालिकाको बारुण यन्त्र र प्रहरीको टोली पुगेर पूरै घर नष्ट हुन बाट बचेको अध्यक्ष न्यौपानेले बताए ।
उनले भने, “यो कायरतापूर्ण र अराजक कामको जतिसुकै भर्त्सना गरे पनि कमै हुन्छ, हामी यस्तो कायरतापूर्ण आक्रमणबाट कत्ति पनि विचलित भएका छैनौं ।”
एमाओवादी नेतृत्वमा रहेको मधेशकेन्द्रित लगायत ३० दलीय मोर्चाकै कार्यकर्तामध्ये कसैले आगो लगाएको हुन सक्ने उनले शंका व्यक्त गरे । यद्यपी मोर्चाका स्थानीय नेताहरुले त्यस्तो आरोप अस्वीकार गरेका छन् ।
मोर्चाको आन्दोलन परिचालन समितिका जिल्ला प्रवक्ता गजेन्द्र मण्डलले भने, “आन्दोलनलाई बदनाम गराउन खसवादीहरुले यस्तो भ्रम फैलाएको हुन सक्छ ।”
यसैबीच ३० दलीय मोर्चा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा ढुँगामुढा गरेका छन् ।
ढुँगा प्रहारबाट कार्यालयको कोठा नम्बर ४ को सिसा फुटेको छ ।
श्रवणकुमार देव, राजविराज
