समाचारबुधबार, माघ ७, २०७१

रक्सी खाएर तोडफोड गरिएको खुलासा

हिमालखबर

टंक पन्त (नेपाल समाचारपत्रबाट)

संविधान बनाउन संविधानसभामा पुगेका एकीकृत नेकपा माओवादी र मधेसी मोर्चासहितका सभासद्हरूले संविधानसभामा मंगलबार गरेको तोडफोड र आक्रमणको सर्वत्र आलोचना भएको छ।

स्वदेश तथा विदेशमा रहेका नागरिकहरूले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणीमा एकीकृत नेकपा माओवादी र अन्य दलका सभासद्हरू अझै जंगली स्वभावबाट मुक्त नभएको, आफूलाई मन नपरेपछि आक्रमण नै गरेर सिध्याउने शैलीमा लागेको टिप्पणी गरेका छन्।

संविधानसभामा भएको घटनाका बारेमा कुनै⁄कुनै टिप्पणी त लेख्न र भन्न पनि नसकिने गरी आक्रोश व्यक्त गरिएको थियो। मंगलबार बिहान २ बजे संविधानसभामा भएको आक्रमण र तोडफोडका कारण संविधानसभा भवनको बैठक कक्ष रणभूमिमा परिणत भएको थियो।

एकीकृत नेकपा माओवादी र मधेसवादी दलका सभासद्हरूले गरेको कुर्सी, माइक र टेबुल तोडफोड पुनर्निर्माण गर्न केही दिन लाग्ने भएकाले मंगलबार आफैंले भाँचेको कुर्सी र टेबलमा हेर्दै सभासद्हरू बसेका थिए।

सचिवालयका अनुसार तोडफोडबाट ५० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।

सभासद्हरूले माइक उप्काएर लिएर गएका कारण ३ वटा माइक फेला नपरेको संसद् सचिवालयले जनाएको छ।
विदेशबाट आयात गरिएका उक्त माइकको मूल्य पनि महँगो पर्ने सचिवालयले जनाएको छ।

कतिपय सभासद्ले मादक पदार्थसमेत सेवन गरेको पाइएको मर्यादापालकहरूले बताएका छन्।

एक जना मर्यादापालक भन्दै थिए– ‘सभाध्यक्षलाई आक्रमण गर्ने गरी जुत्ता फ्याँक्ने र रोस्ट्रमै पुग्ने तथा अन्य केही सभासद्लाई समाउन जाँदा मादक पदार्थ निकै गन्हाएको थियो। माननीयज्यूलाई हामीले केही भन्न पनि नमिल्ने के गर्ने ?’

सचिवालय स्रोतका अनुसार कतिपय सभासद्ले महिला शौचालयको प्रयोग गरेर मादक पदार्थ सेवन गरेका थिए।

तोडफोड र अन्य सबै घटनाको छानविन गरी प्रतिवेदन बुझाउन सभाध्यक्ष नेम्वाङले सचिवालयकै कर्मचारीहरू रहेको एक कमिटी मंगलबार नै गठन गरेका छन् ।

मध्यरातमा कुटाकुटपछि स्थगित संसद् मंगलबार १ बजेसम्मका लागि स्थगित भएको थियो।

मंगलबारको बैठक पनि अवरुद्ध भएपछि बैठक आज बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रश्नावली समिति निर्माणका लागि नेपाली कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठले प्रस्ताव गर्ने र नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले समर्थन गर्ने कार्यसूची थियो तर सो कार्यसूचीमा बैठक प्रवेश नै गर्न सकेन।

बैठक प्रारम्भ हुनासाथ मुख्य सचेतक श्रेष्ठ र प्रमुख सचेतक खरेललाई प्रस्ताव प्रस्तुत गर्न र समर्थनमा जान नदिन प्रतिपक्षका सभासद्हरूले अन्तिम समयसम्म निगरानी गरेका थिए।

तर, सभाध्यक्षले प्रस्ताव गर्न निर्देशन दिएको भए सुरक्षा निकायले जसरी पनि रोस्ट्रममा पुर्याउने तयारी गरेको थियो। अघिल्लो दिनको तुलनामा मंगलबार मर्यादापालकको संख्या निकै बढाइएको थियो। प्रहरी नायब महानिरीक्षकको कमान्डमा मर्यादापालक परिचालित थिए।

मंगलबार राति शुरूमा नेपाली कांग्रेसका सभासद् रामहरि खतिवडालाई सभासद् उमेश यादवले माइकले हानेका थिए। तर खतिवडाले च्याप्पै समाएपछि तिनै यादवले अर्को माइक थुतेर एमाले अध्यक्ष केपी ओली र नेतृ विद्या भण्डारीलाई ताकेरै हानेको सभासद् खतिवडाले जानकारी दिनुभएको छ।

उनका अनुसार कुर्सी फाल्ने कार्यमा एमाओवादी मात्रै होइन संघीय समाजवादीका नेपाली थर भएका सभासद् पनि खटिइएका थिए। सार्वजनिक सम्पत्तिको तोडफोड गरेकोमा सर्वत्र आलोचना भएको छ। सामाजिक सञ्जालमार्फत भएको तीखो आलोचनाका बारेमा संविधानसभा परिसरमा पनि निकै चर्चा भएको थियो। तर, विपक्षी सभासद्हरू नाजबाफ भएर घाम तापेर सुनिरहेका थिए।

मंगलबार सभाध्यक्ष नेम्वाङले सदनमा अवरोध हुनासाथ बैठक स्थगित नगरेको भए रक्तपातको स्थिति आउने थियो भन्दै तोडफोड जुन ढंगले भयो त्यो पार्टीको नीति नभएको दाबी एकीकृत नेकपा माओवादीका नेताहरूले सचिवालयका पदाधिकारीसमक्ष गरेका थिए।

तर संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले बोल्नेक्रममा कतिपय शब्द पनि आपत्तिजनक प्रयोग गरेको कुरा सभाध्यक्ष नेम्वाङले सम्बद्ध पार्टीका नेताहरूलाई जानकारी गराएका थिए ।

डा. भट्टराईको उत्तेजनात्मक भाषण र एमाओवादीका अध्यक्षसहित अन्य नेताहरूले सदनमै रगतको खोलो बगाइन्छ भन्नुले पनि एमाओवादीको योजनाबद्ध आक्रमण भएको नेपाली कांग्रेस र नेकपा एमालेले निष्कर्ष निकालेका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संविधानसभा भवनमै बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठक र नेपाली कांग्रेसका पदाधिकारी बैठकले संविधान सभाबाट संविधान बन्न नदिने र संविधानसभालाई असफल बनाउने योजनाका साथ एमाओवादी र मधेसी केही दल उत्रिएकाले प्रक्रियामा जानुबाहेक अन्य विकल्प नभएको निष्कर्ष निकालेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी गराउनुभएको छ।

मंगलबार राति संविधानसभामा जसरी संविधानको ऐन र नियमअनुसार अगाडि बढ्न खोज्दा एमाओवादी र मधेसवादी दल तोडफोड र आक्रमणमा उत्रिए त्यो योजनबद्ध थियो त्यसैले दोषीलाई कडा कारबाही गरी क्षति भएको सम्पत्ति सम्बद्ध पक्षबाटै भराउनुपर्ने माग कांग्रेस–एमालेले गरेका छन्।

नेपाली कांग्रेसले पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालामाथि पनि आक्रमण गर्ने प्रयास भएको तर मर्यादापालकले आक्रमणबाट बचाएको बताएको छ।

सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले विज्ञप्ति जारी गरी प्रधानमन्त्री, सभाध्यक्ष, एमाले अध्यक्ष ओली, उपाध्यक्ष विद्या भण्डारी, मर्यादापालकलगायत अन्य सभासद्माथिको आक्रमण, तोडफोडजस्ता अराजक क्रियाकलाप भत्र्सना योग्य भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि आग्रह गरिएको छ।

एमाओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईसमेत आफ्नो नियमित गाडीमा नगई प्रहरीको गाडीमा संविधानसभा भवनमा पुगेका थिए। तर एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, नेताहरू अमृत बोहरा र अष्टलक्ष्मी शाक्य सवार सशस्त्र प्रहरीको गाडीमा बन्दकर्ताले आक्रमण गरेका थिए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>