समाचारबिहीबार, माघ ८, २०७१
संविधानसभामा आक्रमणका कारक बाबुरामः नेता नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानसभामा आक्रमणका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले उकासेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले ८ माघमा गरेको साक्षात्करमा उनले भने, “संविधानसभालाई अनिर्णयको बन्दी बनाउने संवाद समितिका सभापति भट्टराईले नै आक्रमणका लागि उकासेका हुन् ।”
भट्टराई सहमति जुटाउने सहमतिको सभापतिभन्दा पनि पार्टी कार्यकर्ताको रुपमा प्रस्तुत भएको उनको भनाइ छ । भट्टराईकै भूमिकाका लागि संविधान बन्न नसकेको भन्दै नेता नेपालले भने, “असफल भइसकेको संवाद समितिका सभापति भट्टराईले पद त्याग्नुपर्छ ।”
उनले एमाओवादीको समयसीमा मिच्ने प्रवृत्ति हावी भएकाले ८ माघमा संविधान आउन नसकेको बताए । उनले सरकार निर्माणका बेला कांग्रेस–एमालेबाट पनि कमजोरी भएको स्पष्ट पारे ।
“सरकार बनाउँदा कांग्रेस र एमालेले कमजोरी गरेकाले पनि अहिलेको समस्या उत्पन्न भएको हो,” उनले भने, “सरकार बनाउँदा मधेशवादी दललाई पनि स्पेस दिएको भए अहिले संविधान जारी गर्न असहज हुने थिएन ।”
नेता नेपालले एमाओवादीमा अझै पनि युद्धको धंगधंगी कायम रहेको टिप्पणी गरे । एमाओवादी त्यो धंगधंगी छाडेर लोकतान्त्रिक संस्कारमा नआएसम्म संवाद तथा वार्ता हुन नसक्ने उनको भनाइ छ ।
संघीयताको लागि सहमति जुटाउन निश्चित समय दिएर अघि बढ्नुको विकल्प नभएको बताउँदै उनले संविधानसभाले प्रश्नावली समिति बनाएर अघि बढ्ने ठोकुवा गरे । “हामी संविधानसभालाई अनिर्णयको बन्दी बनाइ रहन दिन्नौं, आज प्रश्नावली समिति बन्छ र त्यसमा एमाओवादीले संख्या र प्रतिशतको आधारमा प्रतिनिधित्व पाउँछ,” उनले भने ।

