समाचारशुक्रबार, माघ ९, २०७१
एमाओवादीको नियत नै संविधान नबनाउने हो, त्यसैले गच्छदारको प्रस्तावसमेत मानेनः नेता नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी संविधान बनाउने पक्षमा नरहेको र अल्मल्याउने रणनीतिमा मात्र रहेकाले ८ माघ साँझ बसेको प्रमुख दलहरुको बैठक विफल भएको बताएका छन् ।
संविधानसभाको बैठक केही समयका लागि स्थगित भएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेशीमोर्चाको बैठकमा सहमतिका लागि भन्दै मधेशीमोर्चाको एक घटक मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नयाँ प्रस्ताव राखेका थिए ।
“गच्छदारजीले मिलेका विषय मस्यौदा समितिमा पठाऔं, अन्य विषयमा छलफल गर्दै सहमतिमा पुगौं भन्ने प्रस्ताव राख्नुभो” नेपालले हिमालखबरलाई भने, “पुष्पकमल दाहालजीले त्यसलाई मान्नुभएन, एमाओवादीको संविधान बनाउने नियत नै देखिएन, त्यसैले सहमति हुनसकेन ।”
निर्वाचन प्रणाली र न्यायप्रणालीबारे दलहरुबीच लगभग सहमति भएको, शासकीय स्वरुपमा एमाओवादीले नै भिन्नताका बाबजुद फरक मत राखेर जाने प्रतिबद्धता जनाएको र संघीयतामा पनि ६–८ प्रदेशको संख्या उल्लेख गर्दै नामांकन प्रदेशसभाले गर्ने र सीमांकन एक महिनाभित्र टुंगो लगाउने गरी गच्छदारले राखेको सहमतिको प्रस्ताव एमाओवादीले नमानेको नेपालले बताए ।
“यति भइसकेपछि मिल्न बाँकी कुरा केही थिएन” नेता नेपालले भने, “पुष्पकमलजीले अहिले मस्यौदा समितिमा पनि नजाऔं, प्रक्रियामा पनि नजाऔं, एउटा राजनीतिक वक्तव्य जारी गरेर जनतालाई आश्वस्त पारौं भन्नुभो, त्यसले संविधान नबनाउने नियत देखायो ।”
आफूहरुले ८ माघलाई त्यसै पन्छाउन नमिल्ने, जनतालाई भ्रममा राख्न नहुने र प्रक्रिया पनि सहमतिकै एक अंग भएकाले प्रक्रियामा सहमति गर्दै अगाडि बढेर पुनः सहमतिको प्रयासलाई निरन्तरता दिन आग्रह गरेको, तर दाहालले त्यसलाई स्वीकार नगरेको उनको भनाई छ ।
अब मुकदर्शक नबनौं
एमाले बरिष्ठ नेता नेपालले कांग्रेस, एमालेसहितका सत्तारुढ दलले प्रक्रिया अगाडि बढाउन सभाध्यक्षलाई आग्रह गरेको र अब यसैगरी बैठक अबरुद्ध गरेर बसिरहन नमिल्ने बताए ।
“तर, बैठक अगाडि बढेको छैन” उनले भने, “यस्तो अवरोध सँधै हुन्छ, भोलि राप्रपा नेपालले राजतन्त्र पुनर्स्थापित नभएसम्म अबरोध गर्छु भन्ला, हिन्दुवादीहरुले हिन्दुराष्ट्र नभएसम्म अबरोध गर्छौं भन्लान्, सभाध्यक्ष कतिञ्जेल मुकदर्शक भएर बसिरहने ?”
