समाचारशनिबार, माघ १०, २०७१

सभाध्यक्षले प्रस्ताव पेस गरे प्रतिवाद गरिन्छ: दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको बैठकमा जबर्जस्ती प्रस्ताव पेस गरिए सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

रिपोर्टस् क्लब नेपालले एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बुझाएको ज्ञापनपत्र बुझ्दै दाहालले सभाध्यक्षले प्रस्ताव पेस गरे त्यसले मुलुकमा थप द्वन्द्व निम्तने भन्दै जबर्जस्ती नगर्न धम्की दिएका छन् ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सधैँ संविधानसभालाई बन्धक बनाउन नदिने र आफूले नै निकास दिने बताएका बेला एमाओवादी अध्यक्ष दाहालको यो भनाइ आएको हो ।

उनले १२ बुँदे समझदारीका सहयात्रीबीच गतिलो सहमतिको आवश्यकता रहेको भन्दै थपे, ‘‘नेपाली काँग्रेस र नेकपा एमालेका नेतामा अहङ्कार बढेको छ, त्यसले सहमतिका आधारमा संविधान जारी हुन सक्दैन, विगतको सहमति तथा सम्झौताको पनि पालना हुँदैन । सहमतिका आधारमा नै अगाडि बढ्नु आजको आवश्यकता हो ।’’

उनले सभाध्यक्ष नेम्वाङलाई संविधानसभाको बैठक दश दिनजति रोकेर सहमतिको वातावरण बनाउनेतर्फ पहल गर्न आग्रह गरे ।
८ माघमा समयसीमा सकिसकेको अवस्थामा नयाँ कार्यतालिका तय गरेर अगाडि बढ्नु नै अहिलेको आवश्यकता भएको उनको भनाई थियो ।

संविधान निर्माण प्रक्रियाका लागि गठन गरिने समिति अन्य सामान्य संसदीय समिति जस्तो नहुने तर्क गर्दै दाहालले सभाध्यक्षलाई पदीय मर्यादा र सीमाको समेत ख्याल गर्न आफूहरुले ध्यानाकर्षण गराएको दाहालले बताए ।

सहमतिका लागि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गरेको प्रस्तावमा पनि सत्ताधारी दलहरु नै सहमत नभएको उनले दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>