समाचारमंगलबार, माघ १३, २०७१
सत्तपक्षीय दलहरुद्वारा विपक्षीलाई वार्ताका लागि आग्रह
नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायतका राजनीतिक दलहरुको बैठकले संविधान निर्माणको प्रक्रिया र सहमति खोज्ने प्रयास सँगसँगै अघि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा १३ माघमा बसेको १० दलहरु र दुई स्वतन्त्र सभासदसहितको बैठकमा सबै दलको समर्थन लिएर संविधान निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरिएको नेका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
उनले सबै दललाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउँदै अघि बढ्ने तय भएको जानकारी गराउँदै भने, “माघ ११ गते गठन भएको प्रस्ताव निर्माण समितिमा उपस्थित नभएका दललाई समितिमा सहभागी हुन बैठकले आग्रह गरेको छ ।”
बैठकले विद्यमान संविधान, विधिको शासन र लोकतान्त्रिक मर्यादाको सम्मान गर्दै छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्न प्रस्ताव निर्माण समितिमा सहभागी हुन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न एमाओवादी सम्बद्ध मोर्चा तथा साझा मुद्दाका लागि गठित संयुक्त मञ्चका नेताहरुलाई आग्रह गरेको छ ।
विधि र नियम बमोजिम संविधानसभाको निर्णय प्रक्रियालाई निरन्तर रुपमा अघि बढाउन पनि बैठकले आह्वान गरेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सकेसम्म सहमति कायम गर्दै संविधान निर्माण प्रक्रियालाई अघि बढाउनुपर्छ भन्ने विषयमै बैठक केन्द्रित भएको बताए ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामी सधैं वार्ता र सहमतिबाट समस्या समाधान गर्न चाहन्छौ । सम्भव भए सर्वसम्मति, त्यो हुननसके पर्याप्त सहमतिबाट नयाँ संविधान निर्माण गरी संविधान जारी गर्न तयार र क्रियाशील छौं ।”
“तर वार्ता र सहमतिको नाममा संविधानसभाबाट संविधान जारी गर्न अवरोध सिर्जना हुने कुनैपनि कार्य देश तथा जनताप्रति उत्तरदायी राजनीतिक दलले गर्न मिल्दैन,” विज्ञप्तिमा थप उल्लेख छ ।
नेपाली जनता दलका अध्यक्ष हरिश्चन्द्र साहले अन्तरिम संविधान, बाह्र बुँदे समझदारीजस्ता कुराहरुलाई समेट्दै संविधान निर्माण प्रक्रियामा जानुपर्ने विषय बैठकमा राखिएको बताए । रासस
