समाचारमंगलबार, माघ १३, २०७१
‘विपक्षी मोर्चासँग वार्ता शुरु भैसक्यो, अब वान टु वान कुरा अघि बढ्छ’
नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी मोर्चाका नेताहरुसँग वार्ता गरिसकेको जानकारी दिँदै अब द्विपक्षीय, त्रिपक्षीय र एक्लाएक्लै वार्ता हुने बताएका छन् ।
रिपोर्टर्स क्लबले १३ माघमा आयोजना गरेको साक्षात्कारमा नेता बडुले संविधान सडकबाट नभई संबाद र प्रक्रियाबाट बन्ने भन्दै एमाओवादीले संविधानसभाबाट संविधान बनाउन चाहेको हो भने आन्दोलन छाडेर वार्ता तथा सम्वादमा आउनुपर्ने बताए ।
बडुले भने,‘प्रधानमन्त्रीले वार्ताको प्रारम्भ गरिसक्नुभएको छ, उहाँले हिजोबाटै टेलिफोनमा शिर्ष नेताहरुसँग संबाद गरिसक्नुभएको छ, अब भोलिबाटै उहाँले थप वान टु वान वार्ता तथा छलफल गर्दैहुनुहुन्छ मलाई आशा छ उहाँको वार्ताले सार्थक निश्कर्ष निकाल्छ र दलहरु पूनः सम्वाद, सहमति र एकताबाटै अघि बढ्ने वातावरण बन्नेछ ।”
उनले अब प्रक्रियाबाट पछि हट्ने अवस्था नरहेको भन्दै थपे, “प्रश्नावली समिति गठन भैसकेकोछ, प्रक्रिया प्रारम्भ गर्दा सहमति पनि सँगसँगै लिएर जानुपर्छ, अझैपनि थुप्रै चरणहरु बाँकी छन, त्यसमा उहाँहरु सहभागी हुनुपर्छ ।”
प्रक्रियामा गएर वार्ताको कुरा हास्यास्पदः रायमाझी
एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुले प्रक्रियाको तरवार विपक्षी दलको घाँटीमा राखेर वार्ताको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे ।
उनले सत्तारुढ दलहरुले मोर्चाबन्दी गरेर ९ बुँदे साझा प्रस्ताव ल्याएपछि आफूहरु मोर्चाबन्दी गर्न बाध्य भएको दावी गर्दै भने, “कांग्रेस र एमालेले सरकार, संविधानसभामा मोर्चाबन्दी गरेकोले हामीले बाहिर मोर्चाबन्दी गरेका हौ ।”
रायमाझीले ११ माघको निर्णय नसच्याएसम्म वार्तामा नबस्ने अडान दोहोर्याए ।
दाहाल फाईनल कुरा गर्नसक्ने हैसियत लिएर आउनु पर्छः ज्ञावली
नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले एमाओवादी अध्यक्ष दाहालले आज एउटा कुरा गरेर पार्टीमा छलफल गर्छु भन्ने तर भोली फर्किदा मिलाउन सकिन भनेर जवाफ दिने गरेको उल्लेख गर्दै उनलाई फाईनल कुरा गर्न सक्ने हैसियत राख्न सुझाव दिएका छन् ।
उनले भने, “पार्टीभित्र सहमति गरेर आउछु भनेर जानु हुन्छ । भोली पल्ट फेर्नुहुन्छ । उहाँमा रँग बदल्ने कुन तत्व छ, हामीले बुझ्न सकिरहेका छैनौ ।”
ज्ञावलीले संविधान बनाउनै भनेर आफूहरुले दाहाललाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक र भट्टराईलाई संवाद समितिको सभापति बनाएको स्मरण गराए ।
उनले एमाओवादीले संविधानसभा नमान्ने माओवादीसँग मोर्चाबन्दी गरेर आन्दोलन गर्नु असंगत भएको धारणा राखे ।
उनले भने, “संघीयताबाहेक अरु विषयमा कुरा मिलिसकेको छ । तपाइहरु वार्तामा आउनै पर्छ । यो पटक संविधानसभालाई असफल बनाउन पाईदैन ।”
