समाचारबुधबार, माघ १४, २०७१

द्वन्दवकालीन घटनाका पीडितद्वारा राष्ट्रसङ्घमा उजुरी

हिमालखबर

मानवअधिकार हननका घटनालाई सम्बोधन गर्न नेपाल सरकार असफल रहेको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले जनाएको छ ।

११ वर्षअघि काभ्रेपलाञ्चोक जिल्ला पोखरीचौर गाविसका छात्रा सुभद्रा चौलागाइँलाई नेपाली सेनाले पक्राउ गरी हत्या गरेको भनिएको घटनामा छानविन गरी दोषीमाथि कारबाही गर्न सरकारले तदारुकता नदेखाएको सन्दर्भमा समितिले आरोप लगाएको हो ।

एडभोकेसी फोरम नेपालद्वारा आयोजित पत्रकार भेटमा सुभद्राका बाबु केदारनाथ चौलागाईले भने, “२०६० फागुन १ गते राति सेनाको समूहले काँइलादाई भनी बोलाएर ढोका खोल्न लगाए, घरभित्र छिरेर छोरी सुभद्रालाई लछारपछार गरेर तल ल्याइ उनको टाउको बजारे, केही पर लगेर पेटमा गोली हाने, उनी लडेपछि बन्दुकको कुन्दा र लात्तीले टाउको बजारे त्यसपछि मलाई पनि कुटेर मर्‍यो होला भनी छोडेका थिए ।”

आफूले नेपालमा न्याय नपाएकैले जेनेभास्थित मानवअधिकार समितिमा उजुरी गर्न बाध्य हुनुपरेको उल्लेख गर्दै उनले अगाडि भने, “राष्ट्रसङ्घीय मानवअधिकार समितिले भनेबमोजिम आफ्नो मुद्दामा सरकारले न प्रभावकारी अनुसन्धान गरी कारबाही अघि बढायो, नत उचित क्षतिपूर्ति नै दियो ।”

आयोजक संस्थाका कार्यकारी निर्देशक डा त्रिलोचन उप्रेतीले भने, “सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिबद्धता जनाएअनुरुप पीडितलाई न्याय दिलाउने प्रयास गर्नुपर्छ, त्यसो हुन नसके अन्तर्राष्ट्रिय अधिकारक्षेत्र आकर्षित हुन्छ ।”

मानवअधिकार समितिका सिफारिस कार्यान्वयन नभए परिस्थिति अझ जटिल बन्ने भएकाले पीडितले न्याय पाउने अधिकार देशभित्रै सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>